१५ सय मिटरको दौडमा छात्रतर्फ हेटौंडा उपमहानगरपालिकाका सुवास योञ्जन प्रथम भएका छन् भने छात्रातर्फ बागमती गाउँपालिकाकी रेविना भ्लोन प्रथम भएकी छन् ।
हेटौंडा — १६ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता सुरु भएको हो ।
१५ सय मिटरको दौडमा छात्रतर्फ हेटौंडा उपमहानगरपालिकाका सुवास योञ्जन प्रथम भएका छन् भने छात्रातर्फ बागमती गाउँपालिकाकी रेविना भ्लोन प्रथम भएकी छन् ।
ज्याभलिन थ्रोमा छात्रतर्फ बकैया गाउँपालिकाका सुरेन्द गुम्वा प्रथम, छात्रातर्फ ज्याभलिन थ्रोमा मनहरी गाउँपालिकाकी जुनुमाया घलान प्रथम हुन भएकी छन् । यसैगरी छात्रतर्फको लङजम्पमा बागमती गापाका प्रविन राई प्रथम भएका छन् भने छात्रातर्फको लङजम्पमा बागमती गाउँपालिकाकै मोरिसा राई प्रथम भएकी छन् ।
यसैगरी सटपुटमा छात्रतर्फ बकैया गाउँपालिकाका सुशान्त राई प्रथम भएका छन् भने छात्रातर्फ बकैया गाउँपालिकाकी रेनुका वाइबा प्रथम भएकी छन् । छात्रको भलिबलतर्फ थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको छ । छात्रातर्फको भलिबलतर्फ भीमफेदी र हेटौंडा उपमहानगरपालिका फाइनलमा प्रवेश गरेका छन् । बुधबारसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथ्लेटिक्स खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा छात्र र छात्राबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ९ वटा पालिकाका २१० छात्रासहित ४५० जना खेलाडी सहभागी छन् ।
प्रतियोगितामा राक्सिराङ गाउँपालिका छात्रछात्राहरुको सहभागिता छैन । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा गरेकी थिइन् ।
