बुटवलमा महिला फुटबल : हेटौंडामाथि पुलिसको ९-० को जित

सिद्धेश्वर खेलमैदानमा भएको खेलमा पुलिसले पहिलो हाफमै ३ गोल गर्दै हेटौंडालाई सुरुवातबाटै दबाबमा राखेको थियो । खेलमा पुलिसकी निर्मला विकले ह्याट्रिक गरिन् ।

वैशाख २८, २०८३

घनश्याम गौतम

Women's football in Butwal: Police win 9-0 over Hetauda

What you should know

बुटवल — बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा नेपाल पुलिस क्लबले हेटौंडा फुटवल एकेडेमीलाई पराजित गरेको छ । नेपाल पुलिस क्लबले हेटौंडा फुटवल एकेडेमी, मकवानपुरमाथि ९–० को एकतर्फी जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलमा पुलिसकी निर्मला विकले ह्याट्रिक गरेकी छन् । उनले दोस्रो हाफको तेस्रो, २८ औं र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेकी हुन् । पहिलो हाफको चौथो मिनेटमा सम्झना लावतीले पुलिसका लागि पहिलो गोल गरेकी थिइन् । त्यसपछि पुलिसले लगातार गोलको वर्षा गर्‍यो । पुलिसका तर्फबाट सहारा लिम्बु, निर्मला उपाध्याय, अनुष्का शेर्पा, निरु थापा र पुन्जली कुसवारले १–१ गोल गरे । पुलिसकी निर्मला विक ‘प्लेअर अफ द म्याच’ भइन् । 

सिद्धेश्वर खेलमैदानमा भएको खेलमा पुलिसले पहिलो हाफमै ३ गोल गर्दै हेटौंडालाई सुरुवातबाटै दबाबमा राखेको थियो । पुलिसले सेमिफाइनलमा ट्रिनिटी क्लब, वालिङसँग बुधबार खेल्नेछ । 

मंगलवार प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल संकटा क्लब, काठमाडौं र गत वर्षको उपविजेता कपिलवस्तु–११ का बीच हुने सचिव दीपक गुरुङले बताए । 

बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको प्लेअर दी म्याच हुने खेलाडीले ५ हजार नगद पाउने छन् । 

जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully