मैदान घरेलु, अस्तित्वको लडाइँमा नेपाल

विश्वकप लिग २ का शीर्ष टोली अमेरिका र स्कटल्यान्डसँग नेपालले २-२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।

वैशाख २८, २०८३

विनोद पाण्डे

Nepal in a fight for survival, on a home turf

What you should know

काठमाडौँ — क्रिकेट विश्वकप लिग २ शृंखला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार सुरु हुँदा अमेरिका र स्कटल्यान्डको ध्यान उपाधितर्फ केन्द्रित हुनेछ भने नेपालले घरेलु मैदानमा अस्तित्वको लडाइँ लड्नुपर्नेछ । स्कटल्यान्डबाहेक नेपालले अमेरिकासँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ ।

अमेरिका र स्कटल्यान्ड लिग २ का शीर्ष टोली हुन् । अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकसाथ दोस्रो स्थानमा छ । नेपाल २४ खेलमा १८ अंक जोडेर आठ राष्ट्र सहभागी लिग २ को सातौं स्थानमा छ । लिग २ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन संघर्ष गरिरहेको नेपाललाई अमेरिका र स्कटल्यान्डसँगको यो शृंखला निकै महत्त्वपूर्ण छ । लिग २ मा नेपालको यो तेस्रो तथा अन्तिम घरेलु शृंखला हो । नेपालले यसअघि सन् २०२४ मा नेदरल्यान्ड्स र नामिबिया तथा अघिल्लो साता यूएई र ओमानसम्मिलित घरेलु शृंखला खेलेको थियो, त्यसमा नेपालले ८ खेलमा ४ मा विजय हात पारेको थियो । २०१९–०२३ मा नेपालले घरेलु मैदानमा खेलिएको लिग २ को १२ खेलमा १० खेल जितेको थियो ।

स्कटल्यान्डसामु अमेरिकालाई उछिन्ने अवसर छ । त्यसका लागि स्कटल्यान्डले यस शृंखलामा नेपाल र विशेष गरी अमेरिकाविरुद्ध जित हात पार्नुपर्नेछ । सन् २०२३ मा स्कटल्यान्ड काठमाडौं आएर लिग २ मा खेल्दा दुवै खेलमा नेपालसँग पराजित रहेको थियो । तर त्यही शृंखलामा नामिबियालाई पराजित गर्दै स्कटल्यान्डले २०१९–०२३ को लिग २ सर्कलको उपाधि जितेको थियो । नेदरल्यान्ड्स सुपर लिगमा खेलिरहेको मौकामा स्कटल्यान्डले ३६ खेलमा ५० अंक जोडेर विजेता बनेको थियो ।

तर नेपालमा आएयता स्कटल्यान्डको प्रर्दशन यसपालि पनि राम्रो हुन सकेको छैन । नेपाल ‘ए’ सँगको दुवै अभ्यास खेलमा स्कटल्यान्ड पराजित रह्यो । स्कटल्यान्डले नेपाली भूमिमा राम्रो खेल्न नसकेको पृष्ठभूमिमा पाकिस्तानका पूर्वकप्तान अझर अलीलाई परामर्शदाताको भूमिकामा नियुक्त गरेको छ । अली हाल स्कटल्यान्ड टोलीसँगैं काठमाडौंमा छन् ।

पाकिस्तानका लागि ९७ टेस्ट र ५३ एकदिवसीय खेलेका अलीको एसियामा खेल्दाको अनुभव उपयोगी हुने विश्वास स्कटल्यान्ड क्रिकेट बोर्डले राखेको छ । उनले टेस्टमा ७ हजारभन्दा बढी रन बनाएका छन् । प्रतिभावान खेलाडी रहेका स्कटल्यान्डसँग जोडिएर काम गर्दा आफू उत्साही रहेको अलीले क्रिकेट स्कटल्यान्डको विज्ञप्तिमा भनेका छन् । अलीले २००२ को यू–१९ विश्वकपमा नेपालविरुद्ध खेलेका थिए, जतिखेर उनी प्रमुख रूपमा बलरको भूमिका थिए ।

नेपालले यस लिग २ को यात्रामा स्कटल्यान्डलाई अमेरिकाको ड्यालास र स्कटल्यान्डको डन्डीमा १–१ खेलमा पराजित गरेको थियो । डन्डीमा अर्को खेलमा भने स्कटल्यान्डले नेपाललाई २ रनले हराएको थियो । उक्त खेलमा ३ सय २४ रनको विजय लक्ष्य पाएको नेपाल पूरा ५० ओभर खेल्दै ३ सय २१ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका कप्तान रिची बेरिङटनले उक्त खेलमा १ सय २ र माइकल लिस्कले ६२ बलमा अविजित ९६ रन बनाएका थिए ।

स्कटल्यान्डका जर्ज मुन्सी, ब्रान्डन म्याकमुलेन र मार्क वाटसँग काठमाडौं आएर एनपीएल खेलेको अनुभव छ । कर्णाली याक्सबाट खेल्दै वाटले च्याम्पियन बनेको लुम्बिनी लायन्सविरुद्ध लिग चरणको खेलमा ४४ बलमै अविजित १ सय १४ रन बनाएका थिए । वाटले ४१ बलमै १ सय रन पूरा गरी एनपीएलको सबैभन्दा कम बलमा बनेको शतक आफ्नो नाममा लेखाएका थिए ।

पछिल्लो पटक नेपाल र स्कटल्यान्डको भेट फेब्रुअरीमा भारतको मुम्बईमा ट्वान्टी–२० विश्वकपमा भएको थियो, जहाँ दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले १ सय ७१ रन बनाउँदै ७ विकेटको विजय हात पारेको थियो । उपकप्तान दीपेन्द्र अहिले उच्च लयमा छन् । यूएई र ओमानसँगको शृंखलामा दीपेन्द्रले एक शतक र दुई अर्धशतकसहित झन्डै ९० को औसतमा २ सय ६८ रन बनाएका थिए ।

तर उनलाई अन्य ब्याटरको सहयोग नहुँदा नेपाली ब्याटिङ सोचेअनुरुप हुन सकेको छैन । नेपाली ब्याटिङमा आधार मानिएका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले यूएई र ओमानसँगको दुई खेलपछि आफ्नो स्थान गुमाएका थिए । त्यसयता कुशल अझै प्लेयिङ ११ बाहिर छन् भने एक खेल ‘ड्रप’ पछि टोलीमा फर्किएका आसिफले ओमानविरुद्ध ९४ रन बनाएका थिए ।

नेपाली टोलीमा लामो समयपछि पुनरागमन गरेका विकेटकिपर–ब्याटर विनोद भण्डारीले यूएईविरुद्ध अर्धशतक बनाए भने अर्को खेलमा पहिलो बलमै आउट भएका थिए । युवा अर्जुन कुमालले ओमानविरुद्ध परिपक्व इनिङ्स खेल्दै नेपाली क्रिकेटमा लामो दौडको सहयात्री बन्ने सम्भावना देखाएका थिए । यूएई र ओमानसँग खेलेको शृंखलाबाट नेपालले अलराउन्डर बसिर अहमदको स्थानमा इशान पाण्डेलाई टोलीमा समावेश गरेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ प्रतीक्षामा रहेका इशानले लामो समयदेखि टोलीमा रहेका देब्रेहाते ब्याटरको संकट चिर्न सक्छन् । शीर्ष ब्याटिङक्रममा नेपाली टोलीमा गुलशन झामात्र देब्रेहाते ब्याटरको रूपमा छन् । उनले यूएई र ओमानसँगको पछिल्लो दुई खेलमा बल र ब्याट दुवैबाट राम्रो प्रभाव देखाएका थिए ।

लिग २ मा नेपालको संकट चिर्न कप्तान रोहित पौडेलले पनि उच्च प्रदर्शन देखाउनुपर्ने आवश्यकता छ । अक्टोबरमा यूएईविरुद्ध १ सय ९ रन बनाएयता उनले अर्धशतकको आँकडा छुन सकेका छैनन् । त्यसयता उनले ६ खेल खेलिसकेका छन् । बलिङमा पनि नेपालको कामचलाउ मात्र बनेको छ । घरेलु मैदानमा नेपाली बलर विशेष गरी स्पिनरहरूले धार देखाउन सकेका छैनन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully