धनकुटा खुला ब्याडमिन्टन उपाधि नारायण–विशाल र रमेश–उत्सवको जोडीलाई

जिल्लाभरिका ७० टोलीको सहभागिता रहेको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजक सिर्जनशील सांस्कृतिक समूह हिलेका अध्यक्ष भुपेन तामाङले जानकारी दिए ।

वैशाख २८, २०८३

विनोद घिमिरे

Narayan-Vishal and Ramesh-Utsav win Dhankuta Open badminton title

धनकुटा — धनकुटाको हिलेमा आयोजित जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि ए डिभिजनतर्फ नारायण विश्वकर्मा र विशाल पराजुली तथा बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कटेलको जोडीले जितेका छन्।

सिर्जनशील सांस्कृतिक समूह हिलेको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा ए डिभिजनतर्फ नारायण–विशालको जोडीले विमल श्रेष्ठ र रोहित कटेलको जोडीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

त्यस्तै, बी डिभिजनतर्फ रमेश–उत्सवको जोडीले पेम्बा लामा र पवन लिम्बूको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा हराउँदै विजेता बनेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ए डिभिजनका विजेता टोलीले नगद ११ हजार रुपैयाँ तथा उपविजेताले ५ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, बी डिभिजनका विजेताले नगद २० हजार रुपैयाँ र उपविजेताले १० हजार हात पारे ।

प्रतियोगितामा हिलेका साइमन राई उदयमान खेलाडी घोषित भएका छन् । जिल्लाभरिका ७० टोलीको सहभागिता रहेको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजक सिर्जनशील सांस्कृतिक समूह हिलेका अध्यक्ष भुपेन तामाङले जानकारी दिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully