दौडमा भविष्य खोजिरहेकी कल्पना

जुम्लाकी कल्पना बुढाले लगातार दोस्रोपटक अल्ट्रा म्याराथन जितेपछि स्थानीय किशोरीमा खेलप्रतिको उत्साह थपिएको छ ।

वैशाख २८, २०८३

डीबी बुढा

Kalpana, looking for the future in the race

What you should know

जुम्ला — समाजमा अहिले पनि छोरा र छोरी बीच विभेद कायमै छ । छोरीलाई घरबाहिर पठाउन नहुने मानसिकता विद्यमान छ । तर जुम्ला पातारासी गाउँपालिका-२ पेरेगाउँकी १८ वर्षीया कल्पना बुढाले आधारभूत तहको पढाइपछि गाउँ छाड्ने योजना बनाइन् । 

उनले दौडेर जिल्ला र देशको नाम चिनाउने प्रण गर्दै उनी तीन वर्षदेखि कीर्तिमानी धावक हरिबहादुर रोकायासँगै दौडन थालिन् । त्यसकै नतिजाले दुई वर्षदेखि निरन्तर रुपमा जुम्ला रारा म्याराथनमा महिलातर्फको स्वर्णपदक हात पार्न सफल भएकी छन् । 

कर्णाली स्पोर्टस् क्लब जुम्लाले शनिबार आयोजना गरेको जुम्ला रारा अल्ट्रा म्याराथनमा कल्पनाले स्वर्णपदक हात पारिन् । यो उनको दोस्रो पटकको सफलता थियो । सँगै दौडिएकी सुनसरी रोकाया र सन्देवा बुढालाई पराजित गर्दै कल्पनाले दुई वर्ष निरन्तर उपाधि जित्ने धाविकाको रुपमा रेकर्ड बनाइन् । उनले यो वर्षको म्याराथनमा ७ घण्टा ७ मिनेट १२ सेकेण्डमा जुम्लादेखि रारातालसम्मको ५४ किलोमिटर दुरी पार गरिन् ।उनले दुबैपटक स्वर्णपदक जितेर एक/एक लाख रुपैयाँ पुरस्कार समेत पाइन् ।

समाजमा रहेको छोरीप्रतिको परम्परागत मान्यता ताेड्ने प्रयास गर्दै दौडमै भविष्य खोजिरहेको कल्पना बताउँछिन् । ‘छोरीले घरायसी कामबाहेक केही गर्न सक्दैनन् भन्ने परम्परागत मानसिकले समाज जेलिएको छ,’ कल्पनाले भनिन्,‘त्यो मानसिकता पूर्णरुपमा भत्काउन एथ्लेटिक्समा लागेकी हुँ ।’ छोरीको सफलता देखेर उनको परिवार र गाउँले छक्क छन् । छोरीहरुलाई दौडाउनु हुन्न भन्नेहरु अहिले उनको खुलेर प्रशंसा गरिरहेका छन् । गत वर्षको जुम्ला रारा अल्ट्रा म्याराथनमा ७ घण्टा ५१ मिनेट ३२ सकेण्डमा दुरी पार गरिन् । उतिबेला ५१ किलोमिटरको दुरी पार गर्नुपर्ने थियो ।  

नियमित रुपमा दौड प्रशिक्षण गर्नुका साथै अध्ययनमा पनि उतिकै जोड दिँदै आएकी छन् । उनीसँगै राज्यलक्ष्मी रावल र सन्देवा बुढा क्रमश: द्वितीय र तृतीय भइन् । उनले दिएको प्रेरणाले अहिले जिल्लाका धेरै किशोरकिशोरी दौड अभ्यास गर्न थालेका छन् । जुम्ला रारा अल्ट्रा म्याराथनको सातौं संस्करणसम्म विजेता अधिकांश धावकधाविका नेपाली सेना र प्रहरीमा खेलाडीका रुपमा भर्ती भइसकेका छन् ।  

धावक हरिबहादुरको प्रेरणाले उनी तीन वर्षदेखि उनी एथ्लेटिक्समा जोडिएकी हुन् । धावक रोकायासँग कल्पनाका बुवा आफै पुगेर राम्रो खेलाडीका रुपमा अघि सार्न आग्रह गरे । धावक रोकायाले भने, ‘अहिले कल्पना एउटा क्षेत्र र जिल्लाको मात्र खेलाडी नभई सिंगो राष्ट्रको गहना बन्ने प्रयासमा छन् ।’ उनका अनुसार कल्पनाले बैग्लोर, दुबइ, हङकङलगायतमा भएका इभेन्टमा भाग लिइसकेकी छन् । नेपालभित्रका अन्नपूर्ण, रुकुम पश्चिमको गुरिल्ला, सुर्खेतमा हुने दौडदेखि पोखरा म्याराथन र मञ्जुश्री ट्रेल रेसमा दुई पटक भाग लिएकी छन् । 
अहिले कर्णाली खेलकुद क्लबमा आवद्ध कल्पनाले चन्दननाथ माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरिन् । पेरेगाउँ चर्चित धाविका सुनमाया र राममाया बुढाको पनि हो । अहिले धावक रोकाया २० जना भन्दा बढी प्रशिक्षण लिइरहेका छन् । धावक रोकायाले भने, ‘किशोरकिशोरीमा खेलप्रतिको तीब्र चाहना छ तर सरकारी सहयोग छैन ।’ स्थानीय तहले पनि खेलकुद क्षेत्रलाई उपेक्षा गरेको आरोप रोकायाको छ । ‘दुर्गममा कल्पना जस्ता प्रतिभावान खेलाडी धेरै छन्,’ उनले भने, ‘आर्थिक अभाव, पारिवारिक बाध्यता र सरकारी बेवास्ताका कारण प्रतिभाको उचित मूल्यांकन हुन सकिरहेको छैन ।’ यो पटकको म्याराथनमा एक भारतीयसहित १५ महिलाले भाग लिएका थिए ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully