हान्सी फ्लिकको बार्सिलोनाका लागि पहिलो हाफमा मार्कस रसफोर्ड र फेरान टोरेसले एक एक गोल गरे ।
काठमाडौँ — बार्सिलोनाले आइतबार रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा उपाधि जितेको छ । बार्सिलोना स्पेनी लिग च्याम्पियन भएको यो २९ औं पटक हो । हान्सी फ्लिकको बार्सिलोनाका लागि पहिलो हाफमा मार्कस रसफोर्ड र फेरान टोरेसले एक एक गोल गरे ।
लगातार बार्सिलोनाले दोस्रो सिजन लिग जितेको हो भने रियल यो सिजन उपाधिविहीन रह्यो । लिगमा तीन चरणको खेल बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा निर्णायक सावित हुने १४ अंकको अग्रता लिएको छ । बार्सिलोनाको ३५ खेलबाट ९१ अंक भएको छ ।
स्पेनी लिग इतिहासमा एल क्लासिको खेलले उपाधिको निर्णय भएको यो दोस्रो पल्ट मात्र हो । यसअघि सन् १९३२ मा रियलले बार्सिलोनालाई हराएर लिग जितेको थियो । रियल ३६ पल्टको लिग च्याम्पियन हो ।
