आयोजक बिस पचहत्तर युवा क्लब ४–० ले पराजित
बुटवल — बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आइतबार भएको खेलमा अभिषेक चर्च, नवलपुर विजयी भएको छ ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलमा चर्चले आयोजक विस पचहत्तर युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै चर्च अन्तिम चारमा पुगेको छ । अभिषेक चर्चका लागि रेखा विष्ट र अनिता रानामगरले २–२ गोल गरेका हुन् ।
खेलमा अभिषेक चर्चकी अनिता रानामगरले प्लेर अफ द म्याच हुँदै नगद ५ हजार प्राप्त गरिन् ।
सोमबार नेपाल पुलिस क्लब काठमाडौं र हेटौंडा फुटबल क्लब मकवानपुरकाबीच प्रतिस्पर्धा हुने सचिव दिपक गुरुङले बताए ।
बीस पचहत्तर युवा परिवारको आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख ५० हजार र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेअर दि म्याच हुने खेलाडीले ५ हजार नगद पाउने छन् ।
दर्शकका लागि करिब ३ हजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी छन् ।
