‘रेस’मै रमाएका धीर

हलो जोत्न छाडेर दौडिन थालेका वन रक्षक धीरबहादुर बुढा अन्ततः म्याराथन विजेता बने ।

वैशाख २७, २०८३

डीबी बुढा

Dhir, who enjoyed the 'Race'

What you should know

जुम्ला — जुम्ला कनकासुन्दरी गाउँपालिका–१ काभ्रा गाउँका धीरबहादुर बुढाले पहिलोपटक हलो जोत्न छोडेर जुम्ला रारा अल्ट्रा म्याराथनमा भाग लिए । २०७१ सालमा पहिलोपटक हुन लागेको म्याराथनमा दौड्न पाइने खबरले उत्साहित उनले जुम्लादेखि रारासम्मको ४९ किलोमिटर दौडमा दोस्रो स्थान प्राप्त गरे । 

‘हलो जोत्दै थिएँ । जुम्लादेखि रारासम्म दौडिने सूचना पाएँ,’ उनले भने, ‘हलो जोत्न छोडेर खलंगा आएर पहिलो जुम्ला रारा अल्ट्रा म्याराथनमा दौडिएँ । दोस्रो स्थान ल्याउँदा निकै खुसी लाग्यो ।’ पहिलो पटक कुनै दौड प्रशिक्षण नगरीकन म्याराथनमा रजत पदक जित्दा गाउँलेहरू चकित बने । उनले भने, ‘गाउँमा दौडिनेलाई गिज्याउने चलन छ । तर म दौडिएरै खेल क्षेत्रमा होमिएको हुँ ।’

अहिले उनी मुगुस्थित गमगडीमा डिभिजन वन कार्यालयमा वन रक्षक पदमा कार्यरत छन् । उनी दौड अभ्यास गर्ने पनि फुर्सद पाउँदैनन् । उनीसँग सेवाग्राहीको सेवा गर्ने र दौड अभ्यास गर्ने सधैं चटारो हुन्छ । उनले एक महिनाको अभ्यासले यसपटक जुम्ला रारा म्याराथनमा स्वर्णपदक जितेको बताए । 

पाँचौं पटकसम्म जुम्ला रारा म्याराथनमा भाग लिइसकेका धीरबहादुरले अहिलेसम्म तीनपटक स्वर्णपदक जितेका छन् । दुईपटक रजत पदकमै चित्त बुझाए । उनका अनुसार २०७६ मा जुम्लादेखि रारासम्मको ४९ किलोमिटर दूरी ५ घण्टा १२ मिनेटमा पार गरे । २०८१ मा ४ घण्टा ५७ मिनेटमा दूरी पार गरेर स्वर्णपदक जिते । २०८३ वैशाख २६ मा उनले ६ घण्टा ९ मिनेट ८ सेकेण्डमा दूरी पार गर्दै स्वर्णपदक जिते । यो पटक गत वर्षको भन्दा ५ किलोमिटर बढी दौडिनुपर्ने भएकाले समय फरक परेको धीरबहादुरको भनाइ छ ।  

‘निरन्तर जितेको भए ह्याट्रिक नै हुने थियो,’ उनले भने, ‘फरक–फरक वर्षमा जितेकाले ह्याट्रिक मानिँदैन ।’ तर अहिलेसम्म उनको रेकर्ड कसैले तोड्न सकिरहेका छैनन् । 

यसपटक उनले होमलाल श्रेष्ठ र गोपाल तामाङलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । २०७१ र २०८२ सालको जुम्ला रारा अल्ट्रा म्याराथनमा दोस्रो स्थान प्राप्त गरे । दुर्गम गाउँको मान्छे सुरुमा दौडमा पनि भविष्य हुन्छ र भन्ने थियो तर अहिले उनी दौडमा आफ्नो भविष्य मात्र देखिरहेका छैनन्, गाउँमा बेरोजगार बनेका युवालाई समेत दौडेर जिल्ला र देशको नाम चिनाउन प्रेरित गरिरहेका छन् । 

उनी २०७२ मा नेपाल प्रहरीको सिपाहीमा जागिरे बने । किनभने, खेलकुदमा कुनै भविष्य नभएको भन्दै समाजले निरन्तर गिज्याइरहेको बेला जागिरे बन्नुपर्ने परिवारको दबाब थियो । करिब ३१ महिना प्रहरीको सिपाहीमा जागिर खाएका धीरबहादुरले वन रक्षकमा नाम निकाले । प्रहरीमा फुर्सद नहुने भएकाले खेल क्षेत्रमा सहभागी बन्न कठिन थियो । तर वन रक्षक बनिसकेपछि उनले झण्डै एक दर्जनभन्दा धेरै म्याराथन तथा हाफ म्याराथनमा भाग लिइसकेका छन् । अधिकांशमा त उनी विजेता नै बनेका छन् । Dhir, who enjoyed the 'Race'

उनी सन् २०२३ मा भएको ४१ किलोमिटरको अन्नपूर्ण म्याराथनमा प्रथम भए । ४ घण्टा १० मिनेटमा उक्त दूरी पार गरेका थिए । सन् २०२४ को अन्नपूर्ण म्याराथनमा पुनः भाग लिए । तर खुट्टामा चोट लागेकाले तृतीय स्थान हासिल गरे । सन् २०२४ मै पोखरामा भएको पन्चासे ५५ किलोमिटर दौडमा दोस्रो भए । सोही वर्ष ६० किलोमिटर दूरी रहेको सिन्धुपाल्चोक इन्टरनेसनल ट्रेल रेसमा उनी दोस्रो भए । सन् २०२५ मा भएको १ सय ७० किलोमिटरको एभरेस्ट म्याराथनमा चौथो बने । विसं २०७६ मा भएको पाँचपोखरी हाफ म्याराथनमा प्रथम, २०७४ मा भएको कान्तिपुर हाफ म्याराथनमा पाँचौं, ४१ किलोमिटर पाथीभरा म्याराथनमा पाँचौं स्थान हासिल गरे । 

उनले यही वैशाख महिनामा सुर्खेतमा भएको हरितगृह १३ किलोमिटरको मिनी म्याराथनमा प्रथम स्थान हासिल गरे । उनले अहिलेसम्म न कुनै प्रशिक्षकबाट प्रशिक्षण लिएका छन्, न त कुनै दाताको सहयोगमा दौडिएका छन् । कहिलेकाहीं सदरमुकाम खलंगामा झर्दा विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायासँग दौड्ने गरेको उनको भनाइ छ । 

पहिले गाउँभित्रै हलो जोत्ने र बरोजगार युवकको नामले चिनिने धीरबहादुर अहिले रोजगारी पाएको राम्रो धावकका रूपमा परिचित छन् । तर खेल क्षेत्र स्थानीय, प्रदेश र केन्द्रीय सरकारको प्राथमिकतामै नपरेको उनको गुनासो छ । ‘कर्णाली प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र त छँदैछ, त्यसभन्दा बढी साहसिक खेल पर्यटनको सम्भावना छ,’ धीरबहादुरले भने, ‘सरकारले चाहेको खण्डमा देशविदेशका खेलाडी अभ्यास गर्ने ठाउँ कर्णाली बन्न सक्ने पर्याप्त आधार छन् ।’

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले धीरबहादुरले एथ्लेटिक्समा लगाएको मिहिनेत लोभलाग्दो रहेको बताउँछन् । ‘कर्णाली अब दुर्गम मात्र छैन । खेलाडी उत्पादन गर्ने कारखानाका रूपमा पनि चिनिन थालेको छ,’ उनले भने, ‘यो सकारात्मक सन्देश हो ।’ 

यसपटक जुम्ला रारा म्याराथनमा ४९ जना खेलाडीले भाग लिएकामा ४५ जना मात्रै रारातालसम्म पुगेका थिए ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully