अमेरिका शीर्षस्थानमा रहँदा पनि शान्त पुबुदु

पुबुदु नेपालका पनि सर्वाधिक सफल प्रशिक्षक हुन्, पहिलो कार्यकालमा उनले नेपाली क्रिकेटलाई कायापलट नै गरे।

वैशाख २६, २०८३

विनोद पाण्डे

Even though America is at the top, quiet is still prevalent.

काठमाडौँ — अमेरिका क्रिकेट विश्वकप लिग २ को शीर्ष स्थानको टोली हो तर यही टोली शुक्रबार मूलपानीको माथिल्लो क्रिकेट मैदानमा नेपाल ‘ए’ सँग पराजित हुन पुग्यो । यस नतिजाका बाबजुद अमेरिकाका प्रशिक्षक पुबुदु दासानायके कुनै हतोत्साहित देखिएनन् । उनी मन्द मुस्कानसहित ‘डग आउट’ आफ्ना खेलाडी र विपक्षी टोलीसँग हात मिलाइरहेका थिए । 

उनी प्रायः शान्त नै रहन्छन् । उनी न जितमा मातिन्छन्, न हारमै आत्तिन्छन् । यो उनको परिचय पनि हो । ‘मैले आफ्नो खेलाडीहरूलाई भन्दै आएको छु, नेपालमा आएर खेल्न सबैभन्दा कठिन छ, नेपाललाई नेपालमा हराउन सजिलो छैन,’ पुबुदु अमेरिकाको हारलाई सहजै स्विकार्दै भनिरहेका थिए, ‘नेपालको कन्डिसन नै फरक छ, आज हामी सबै क्षेत्रमा एक्सपोज पनि भयौं ।’

यसले लिग २ मा घरेलु टोली नेपाल र स्कटल्यान्डसँग खेल्न लागेको अमेरिकालाई झन् निखार्ने उनको विश्वास छ । पुबुदु नेपालका पनि सर्वाधिक सफल प्रशिक्षक हुन् । अमेरिकाको प्रशिक्षकका रूपमा उनको यो दोस्रो कार्यकाल हो । यसअघि उनी क्यानडा र नेपालको पनि २–२ पटक प्रशिक्षक रहिसकेका छन् । पुबुदुले २०११ देखि २०१५ सम्म पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई कायापलट नै गरे । धेरैको विश्वास छ, अहिले नेपाली क्रिकेटले त्यही सफलताको ब्याज खाइरहेको छ । 

पुबुदु उनै प्रशिक्षक हुन्, जसले नेपाललाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा डोर्‍याएका थिए । २०१३ मा छनोट भएर २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको क्षणलाई उनी आफ्नो खेल जीवनको सबैभन्दा ठूलो क्षण पनि मान्छन् । यसबाहेक उनकै प्रशिक्षणमा नेपालले विश्व क्रिकेट लिगको डिभिजन ४, डिभिजन ३ को उपाधि पनि जितेको थियो । दोस्रो कार्यकाल बिर्सन लायक रह्यो र औंला गन्दागन्दै २०२२ को जुलाईमा उनी ६ महिनामै क्यानडा फर्किए । 

डेढ वर्षअघि उनकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको थियो । एनपीएललाई छाड्ने हो भने उनले नेपाली राष्ट्रिय टोलीबाट जति सफलता पाए, त्यो सफलता विदेशी भूमिमै थियो । मलेसियादेखि बर्मुडामा उनको प्रशिक्षणमा नेपालले उपाधि उचालेको थियो । यस पटकको नेपाल यात्रामा उनले आफूअनुकूल नतिजा निकाल्न सकेमा अमेरिका एसोसिएट राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधिको सामीप्यतामा पुग्नेछ । 

मंगलबार सुरु हुने लिग २ मा नेपाल र स्कटल्यान्डमाथि सबै खेलमा विजय हात पारेमा अमेरिका उपाधिको धेरै नजिक पुग्नेछ । अमेरिका २४ खेलमा १८ जितका साथ ३६ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले स्कटल्यान्डसँगको दुवै खेल जिते पनि उपाधिनजिक पुग्नेछ । अमेरिका २०१९ देखि मात्र लिग २ मा आएको हो र टोलीले नेदरल्यान्ड्स, स्कटल्यान्डको दबदबालाई तोडेको पनि छ । 

‘म जहाँ प्रशिक्षक भएर जान्छु, खेलहरू जिताउने उद्देश्यसाथ नै जान्छु, यो टिमसँग पनि ती खेलहरू जित्ने क्षमता छन् । हामी यो लिगमा नम्बर एक टोली हुन चाहन्छौं,’ पुबुदुले शुक्रबार मूलपानी मैदानमा भने, ‘स्कटल्यान्ड दोस्रो स्थानमा छ, हामी स्कटल्यान्डमाथि विजय हात पार्न चाहन्छौं । हामी सबै नै खेल जितेर अंक तालिकामा नम्बर एक हुन चाहन्छौं ।’

लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा सोझै प्रवेश गर्नेछन् । अमेरिका यो सूचीमा लगभग निश्चित नै भइसकेको छ । तर पुबुदु अमेरिकालाई लिग २ मै मात्र राख्न चाहन्नन् । २०२७ को एकदिवसीय विश्वकपमा १४ टोलीले सहभागिता जनाउने छन् । आयोजक दक्षिण अफ्रिका र जिम्बावे सोझै छनोट भइसकेका छन् । त्यसबाहेक एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष ८ टोलीले विश्वकप खेल्नेछन् । यो सूचीमा नपरेपछि वेस्ट इन्डिज र आयरल्यान्डले विश्वकप छनोट खेल्ने लगभग निश्चित भइसकेको छ । अमेरिका यहाँबाट एकदिवसीय विश्वकपमा पुग्ने दाउमा रहेको पुबुदु जनाउँछन् । 

‘मलाई लाग्छ, अमेरिकासँग ५० ओभरको विश्वकपमा पुग्ने राम्रो अवसर छ तर भनेजस्तो सजिलोचाहिँ छैन । पूर्ण राष्ट्रहरू छनोटमा आएर खेलिरहेका छन्, शीर्ष एसोसिएट राष्ट्रहरू पनि छन् । त्यसैले यो चुनौतीपूर्ण छ तर त्यहाँ पुग्ने अवसर पनि छ,’ उनले भने, ‘२०११ को विश्वकपपछि पहिलो पटक १४ टोली पुर्‍याइएको छ, अमेरिकालाई एकदिवसीय विश्वकप खेल्ने राम्रो अवसर आएको छ ।’

२०२४ मा लिग २ को शृंखला खेल्न अमेरिका जाँदा पुबुदु क्यानडाबाट नेपालको परामर्श प्रशिक्षक भएर ड्यालास पुगेका थिए । गत वर्ष नेपाली टोली यूएई जाँदा उनी दुबईमा अमेरिकाको प्रशिक्षक थिए, जहाँ अमेरिकाले नेपाल र यूएईबीचको लिग २ को शृंखला ‘क्लिन स्विप’ गरेको थियो । यो त्यही शृंखला हो, जहाँ नेपालले पहिलो पटक सबै चार खेल हारेको थियो । पुबुदुले अमेरिका र नेपालको टोली नजिकबाट जाँचेका छन् । 

‘नेपाल र अमेरिकाको टोलीमा धेरै फरक छ । अमेरिकाका खेलाडीहरू धेरै अनुभवी छन् । यो स्तरमा उनीहरू पूर्ण छन् । यो स्थितिमा मैले उनीहरूलाई धेरै भनिरहनु पर्दैन, के गर्नुपर्छ उनीहरूलाई नै थाहा हुन्छ । यो सबै राम्रो प्रशिक्षण र अनुशासित वातावरणको कारण हो, त्यसैले प्रदर्शन पनि राम्रो भइरहेको छ,’ पुबुदुले आफूले प्रशिक्षण दिएको दुई टोलीलाई केलाउँदै भने, ‘नेपाली खेलाडीहरू निकै प्रतिभावान छन् तर जब दबाब बढ्छ, त्यस्तो बेलामा पछि पर्ने गरेका छन् । यो खेल भनेको दबाबलाई कसरी झेलिन्छ भन्ने नै हो । अहिले नेपाली टोलीमा लामो समयदेखि खेल्दै आएका खेलाडीहरू छन्, अब यो उनीहरूले प्रदर्शन देखाउने समय पनि हो ।’ 

पुबुदुले लगाएको जर्सीमा अमेरिकी क्रिकेट बोर्डको लोगो थिएन, अमेरिकाको झन्डा मात्र थियो । निरन्तर आन्तरिक विवादपछि गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकाको क्रिकेटलाई निलम्बन गरेको थियो । तर राष्ट्रिय टोलीलाई भने निरन्तर खेल्न दिएको छ । अमेरिकी टोली अहिले क्रिकेट बोर्डको लोगो नलगाई खेलिरहेको छ । 

‘अहिले अमेरिकी क्रिकेट बोर्ड छैन, अदालतमा केही मुद्दाहरू छन्, सबै आईसीसीले नै हेरिरहेको छ र राष्ट्रिय टोलीमा मात्र केन्द्रित छ, नेपालले यस्तैखाले परिस्थिति यसअघि पनि भोगिसकेको छ । राष्ट्रिय टोलीबाहेकको अन्य गतिविधि छैन,’ पुबुदुले भने, ‘लामो समय यो गयो भने यसले दूरगामी असरहरू पार्छन् किनभने हाम्रो राष्ट्रिय टोलीले राम्रो गरिरहेको छ र पूर्ण राष्ट्रका लागि दाबी गरिरहेका छौं तर यही बेलामा डेभलपमेन्ट कार्यक्रमहरू भएन भने असर त पक्कै परिहाल्छ ।’ 

नेपाल फर्केर आउँदा आनन्द आउने जनाउँछन् । २१ घण्टाभन्दा लामो हवाई यात्राबाट बुधबार काठमाडौं आइपुगेको अमेरिकी टोली बिनाप्रशिक्षण ४८ घण्टापछि मैदानमा उत्रिँदा पनि पुबुदुमा कुनै थकान देखिएको थिएन । नेपाली क्रिकेटलाई यो स्थितिमा आइपुग्न कति समय लाग्यो, उनलाई राम्रोसँग थाहा छ । उनले भने, ‘२०११ मा म नेपाल प्रशिक्षक भएर आउँदा खेलाडीको ७ डलर जति दैनिक भत्ता थियो । त्यसपछि हामी पूरै टोलीले मैदान बाहिर धेरै कुरा झेलेका थियौं । त्यसयता नेपालले लामो यात्रा गरिसकेको छ । नेपाल अहिले निकै राम्रो स्थितिमा छ । पारस खड्का र विनोद दासले क्यानमा राम्रो गरिरहेका छन् । एनपीएलले पनि नेपाली क्रिकेटलाई अर्कै स्तरमा पुर्‍याएको छ ।’ 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully