नेपाल ‘ए’ ले क्रिकेट विश्वकप लिग–२ को तयारीको क्रममा रहेको स्कटल्यान्डलाई वर्षालाई प्रभावित खेलमा ९ रनले पराजित गर्यो ।
What you should know
काठमाडौँ — नेपाल ‘ए’ ले अन्तर्राष्ट्रिय अभ्यास खेलमा चौथो विजय हात पारको छ । नेपाल ‘ए’ ले क्रिकेट विश्वकप लिग–२ को तयारीको क्रममा रहेको स्कटल्यान्डलाई वर्षालाई प्रभावित खेलमा ९ रनले पराजित गर्यो ।
नेपाल ‘ए’ ले यसै शृंखलामा बिहीबार स्कटल्यान्डलाई ४५ रनले र शुक्रबार अमेरिकालाई ३ विकेटले पराजित गरेको थियो । नेपाल भ्रमणमा आएका टोलीविरुद्ध राजु बस्न्यातको प्रशिक्षणमा रहेको नेपाल ‘ए’ ले यसअघि ओमानलाई पनि पराजित गरेको थियो । नेपाल ‘ए’ ले सोमबार अन्तिम खेलमा अमेरिकाको सामना गर्नेछ ।
टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय २ रन बनायो । जवाफमा आएको नेपाल ‘ए’ ले ४ विकेट गुमाई २ सय ४ रन बनाएको समयमा खेल वर्षाले रोकिएको थियो । सो समयमा नेपाल डकवर्थ लुइस पद्धतिका आधारमा अगाडि रहेको थियो ।
वर्षाले खेल रोकिनु ठीक अगाडि बसिर अहमद २० रन बनाई आउट भएका थिए भने सन्दीप जोरा ८३ रन बनाई क्रिजमा रहेका थिए । प्लेयर अफ द म्याच उनले ९४ बल खेल्दै ९ चौका प्रहार गरे । ओपनरद्वय मयन १२ र तृतराज दास २४ रनमा आउट भए । तृतले २० बल खेली ४ चौका प्रहार गरे ।
तेस्रो नम्बरमा आएका इशान पाण्डेले ५० रन बनाए । उनले ५३ बल खेल्दै ७ चौका प्रहार गरे । इशान र जोराले तेस्रो विकेटमा १७ ओभरभित्र १ सय ३ रनको साझेदारी गरे । स्कटल्यान्डका ब्राड्ली करी, मार्क वाट, ओलिभर डेबिडसन र माइकल लिस्कले १–१ विकेट लिए ।
यसअघि स्कटल्यान्डबाट माथिल्लोक्रमका सबै ब्याटरहरूले प्रमुख योगदान दिएका थिए । ओपनर जर्ज मन्सीले सर्वाधिक ६२ रन बनाए । उनले ५१ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर फिन्ले म्याकक्रेथले ४४ बल खेली समान १ चौका र छक्कासहित ३४ रन बनाए ।
ब्रान्डन म्याकमुलन ४१ बलमा ३९, कप्तान रिची बेरिङटन ५६ बल खेली १ चौका र २ छक्का प्रहार गरी ४० रनमा आउट भए । माइकल इङलिस ५६ बल खेली ५६ रनमा अविजित रहे । उनले ३ छक्का प्रहार गरेका थिए । म्याथ्यु क्रस २५, लिस्क ५, ज्याक जार्भिस २० बल खेली १ चौका र २ छक्का प्रहार गरी ३०, वाट २ रनमा आउट भए ।
नेपालबाट तीव्र बलर आकाश चन्दले ३ विकेट लिए । उनले ९ ओभरमा ५९ रन खर्चे । शेर मल्ल, विपिन खत्री, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिए । स्कटल्यान्डले मंगलबार घरेलु टोली नेपालसँग खेलेर लिग–२ को सुरुआत गर्दै छ ।
