भुक्तानी नपाउँदा गौतमबुद्ध क्रिकेट रंगशालाको काम १० दिनदेखि रोकियो

भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारको साझेदारीमा २०८१ असार २३ मा हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग रंगशाला निर्माणको काम ७८ करोड ५० लाख लागतमा सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

वैशाख २५, २०८३

राजु चौधरी

Work on Gautam Buddha Cricket Stadium halted for 10 days due to non-payment

What you should know

चितवन — चितवनको भरतपुर महानगरपालिका–१५ स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ ।

बजेट भुक्तानी नभएको कारण देखाउँदै निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीले भरतपुर महानगरपालिकालाई पत्र पठाउँदै वैशाख १५ देखि रंगशाला निर्माणको काम रोकेको हो । भुक्तानीका लागि पटक–पटक पत्र पठाउँदा पनि सुनुवाई नभएका कारण निर्माणको काम बाध्य भएर रोक्नु परेको निर्माण कम्पनीले जनाएको छ । 

रंगशालाका प्रोजेक्ट म्यानेजर प्रवीण क्षेत्रीले निर्माण सामग्रीमा भएको उच्च मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव, ढुवानी समस्या बाबजुद पनि बिना भुक्तानी १३ प्रतिशत काम गरिएको र भुक्तानीकै कारण काम अगाडि बढाउन नसक्ने देखिएपछि काम रोकिएको बताए । ‘हामीले निर्माणको काम रोक्नु पूर्व १० दिनअघि नै पत्र पठाउँदा पनि भुक्तानी नभएपछि काम रोक्न बाध्य भयौं,’ प्रोजेक्ट म्यानेजर क्षेत्रीले भने । 

निर्माण कम्पनीले चैत ३० मा भरतपुर महानगरपालिकालाई विभिन्न समस्याका बाबजुद रंगशाला निर्माणको काम निरन्तर भइरहेको र भुक्तानी नभए काम गर्न नसकिने भन्दै पत्र पठाएको थियो । तर सो अवधिमा पनि भुक्तानी नभएपछि काम रोकिएको हो । 

रंगशाला निर्माणको क्रममा पुसयता ५ महिनाको १० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीका लेखा प्रमुख सम्राट सिलवालले जानकारी दिए । उनका अनुसार भुक्तानीका लागि महानगरलाई पुस ६ मा आइपीसी–५ र फागुन १० मा आइपीसी–६ को भुक्तानी माग गरिएको थियो । महानगरलाई पुस २८, माघ २२, चैत १ र चैत ३० मा गरी ४ पटक भुक्तानीका लागि पत्र दर्ता गराउँदा पनि भुक्तानी नपाएपछि काम रोकिएको लेखा प्रमुख सिलवालले जानकारी दिए । 

अहिले नै बजेट रोकिँदा आगामी वर्ष रंगशालाको स्रोत सुनिश्चितता नहुने हो भने सबै काम रोकिनेमा निर्माण काम्पनीले आशंका गरेको छ । रंगशालाको रोकिएको रकम भुक्तानीका लागि भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारलाई ताकेता गर्दै आइरहेको छ । महानगरका वरिष्ठ डिभिजन इन्जिनियर सन्तोष आचार्यले बागमती प्रदेश सरकारबाट सोमबारसम्म रकम भुक्तानी हुने बताए । ‘हामी निरन्तर प्रदेश सरकारसँग समन्वयमा थियौं, सोमबार बक्यौता रकम भुक्तानी गर्ने जानकारी पाएका छौं,’ आचार्यले भने । 

भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यही वैशाख २२ मा प्रतिफल बाँडफाँड गर्ने सहमति पनि भएको छ । जस अनुसार रंगशालाबाट हुने आम्दानीको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने सहमति भएको महानगरका वरिष्ठ सिनियर डिभिजन इन्जिनियर आचार्यले बताए ।

यो सहमतिपछि मात्रै बागमती प्रदेश सरकारले बक्यौता रकम भुक्तानी गर्न तयार भएको छ । प्रदेशको नीतिमै प्रतिफल बाँडफाँड भएपछि लगानी गर्न सकिने उल्लेख भएकाले यो सम्झौता नहुँदा काम रोकिएको हो । 
महानगरका वरिष्ठ सिनियर डिभिजन इन्जिनियर आचार्यका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सम्झौता अनुसार बाँकी रहेको ३० करोड रुपैयाँ बजेट विनियोजन गर्ने तयारीमा छ । त्यसैले रंगशालाको कामले पूर्णता पाउने आचार्यको भनाई छ । 

रंगशालामा हालसम्म विद्युत भूमिगत तार बिछ्याएको छ भने दुई वटै भीआइपी टावरमा विद्युतको काम सकिएको छ । विद्युतका लागि आवश्यक जेनेरेटर समेत रंगशालामा आइसकेको छ । मैदानमा ड्रेन सिस्टमको सबै पाइप आइसकेको छ भने त्यसलाई राख्नको लागि तयारी भइरहेको छ । प्याराफिट तर्फ तीन वटा ब्लकको काम सकिएको छ भने एउटा ब्लकको ढलान बाँकी छ । भीआइपी टावर एकको सबै भौतिक संरचना निर्माण गरिएको छ भने ट्रस र भित्री भागमा फिनिसिङको काम मात्र बाँकी छ । 

रंगशाला निर्माणको सम्झौता भए अनुसारको ३० महिनाको अवधि आउँदो पुसमा सकिँदै छ । भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारको साझेदारीमा २०८१ असार २३ मा हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग रंगशाला निर्माणको काम ७८ करोड ५० लाख लागतमा सम्पन्न गर्ने सम्झौता गरेको थियो ।पहिलो चरणको कामको सम्झौताअनुसार रंगशालामा १५ हजार दर्शक क्षमताको प्याराफिट, अन्तर्राष्ट्रिय मापदण्डको मैदान र पिच, दुई वटा भीआइपी टावर, स्कोर बोर्ड रहने छ । यो सम्झौता अनुसारे निर्माण सम्पन्न हुँदा रंगशालाको प्याराफिटमा कुर्सी र फ्लड लाइट हुने छैन । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully