नेपाल भ्रमणमा आएका टोलीविरुद्ध राजु बस्न्यातको प्रशिक्षणमा रहेको नेपाल ‘ए’ को यो तेस्रो जित हो ।
काठमाडौँ — नेपाल ‘ए’ ले क्रिकेट विश्वकप लिग २ को तयारीका क्रममा रहेको अमेरिकालाई शुक्रबार ३ विकेटले पराजित गरेको छ । नेपाल ‘ए’ ले अघिल्लो दिन मात्र स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको थियो ।
नेपाल भ्रमणमा आएका टोलीविरुद्ध राजु बस्न्यातको प्रशिक्षणमा रहेको नेपाल ‘ए’ को यो तेस्रो जित हो । नेपाल ‘ए’ ले यसअघि ओमानलाई पनि पराजित गरेको थियो । नेपाल ‘ए’ ले शनिबार पुनः स्कटल्यान्डको सामना गर्नेछ ।
टस जितेपछि ब्याटिङमा आएको अमेरिकाले मूलपानीको माथिल्लो क्रिकेट मैदानमा निर्धारित ५० ओभर खेली ८ विकेट गुमाई २ सय ६२ रन बनाएको थियो । मयन यादवले ७२ रन बनाएपछि नेपालले ५ बल अगाडि लक्ष्य पूरा गरेको थियो ।
प्लेयर अफ द म्याच मयनले ८० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । उनले कुशल मल्लले पाँचौं विकेटमा ९५ रनको साझेदारी गरी नेपाललाई विजय दिलाए । कुशलले ४९ बल खेली १ छक्कासहित ३३ रन बनाए । नेपाल विजयनजिक पुग्दा यी दुवैलाई अफ स्पिनर मिलिन्द कुमारले आउट गरे । मिलिन्दले आफ्नै बलिङमा कुशलको सानदार क्याच लिएका थिए भने मयनलाई बाउन्ड्री लाइनमा क्याच गराए ।
त्यसपछि आएका बसिर अहमदले १६ बल खेली १ छक्का प्रहार गरी १८ रन बनाए । पवन सर्राफ १५ बल खेली २४ र दीपक डुम्रे २ रनमा अविजित रहे । पवनले ४८ औं ओभरमा नोसठुस केन्जिगेलाई लगातार बलमा दुई छक्का र १ चौका प्रहार गरेपछि नेपाल विजयको नजिक पुगेको थियो ।
माथिल्लो क्रममा तृतराज दास ३० बल खेली ३ चौकासहित २३, कप्तान अनिल साह ३१ बल खेली २ चौका र १ छक्कासहित २७, देव खनाल १७, सन्दीप जोरा ५२ बल खेली ४ चौका प्रहार गरी ३६ रनमा आउट भएका थिए । अमेरिकाबाट मिलिन्दले २ तथा सौरभ नेत्राभाल्कर, केन्जिगे, रुसिल उगरकर, हरमित सिंह र सञ्जय कृष्णमुर्थीले १–१ विकेट लिए ।
यसअघि अमेरिकाबाट स्मित पटेलले शतक बनाएका थिए । उनले १ सय १६ रन बनाए पनि मध्यक्रम नचल्दा अमेरिकाले राम्रो विकेटमा ठूलो स्कोर बनाउन सकेन । उनले १ सय ८ बल खेली १० चौका र ५ छक्का प्रहार गरे । तर त्यसपछि सायन जहाँगिर ९, कप्तान मोनाक पटेल २०, साइतेजा मुकामल्ला १०, मिलिन्द ७, शुभम रञ्जने १६, कृष्णमुर्थी १५ र सेहन जयसुर्या ७ रनमा आउट भएका थिए ।
हरमित र जसदीप सिंहले नवौं विकेटमा ४४ बलमा ५४ रनको अविजित साझेदारी गरेपछि मात्र अमेरिकाले २ सय ५० माथिको स्कोर बनाएको थियो । हरमित २३ बल खेली समान १ चौका र छक्का प्रहार गरी २५ तथा जसदीप २८ बल खेली १ चौका र ३ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे । नेपालबाट पवनले २ तथा विपिन खत्री, शाहब आलम, बसिर, शेर मल्ल, रशिद खान र नारायण जोशीले १–१ विकेट लिए ।
