पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

३१ वैशाखमा हुने अवार्ड कार्यक्रमका लागि हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसीले बिहीबार विभिन्न विधाका मनोनयन सार्वजनिक गरेका हुन् ।

वैशाख २४, २०८३

दीपक परियार

Pokhara Sports Award nominations announced

पोखरा — १०औं रारा पोखरा स्पोर्टस् अवार्ड-२०८२ का लागि वर्ष उत्कृष्ट खेलाडीसहित ९ विधामा मनोनयन सार्वजनिक भएको छ । ३१ वैशाखमा हुने अवार्ड कार्यक्रमका लागि हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसीले बिहीबार विभिन्न विधाका मनोनयन सार्वजनिक गरेका हुन् । 

वर्ष उत्कृष्ट पुरुष खेलाडी विधामा जुडोका विज्ञान टी खत्री, टेनिसका प्रदीप खड्का र भलिबलका सञ्जुविक्रम शाह मनोनयनमा परेका छन् । वर्ष महिला खेलाडीमा आर्चरीकी मोनिका राना मगर, एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङ मनोनयनमा परेका छन् ।

उदीयमान खेलाडी विधामा एथलेटिक्सकी अनुष्का अधिकारी, तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई छन् । वर्ष प्रशिक्षकमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथलेटिक्सका सिद्धान्त अधिकारी मनोनयनमा छन् । वर्ष खेल संघमा कास्की जिल्ला क्रिकेट संघ र वर्ष खेल पत्रकारमा दीनानाथ बराल घोषित भएका छन् ।

पिपल्स च्वाइस अवार्डमा क्रिकेटका विपिन खत्री, फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी र मुवाँथाई/आर्ईटीएफ तेक्वान्दोकी सुस्मिता थापा प्रतिस्पर्धी छन् ।

आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले खेलाडीको मनोबल उच्च राख्न र खेलकुदको समग्र विकासका लागि अवार्ड कार्यक्रम आवश्यक रहेको बताए । ‘एक दशक पूरा गर्दै गरेको यो अवार्डले गण्डकी प्रदेशका खेलाडी, प्रशिक्षक र पत्रकारलाई निरन्तर प्रोत्साहित गर्दै आएको छ,’ उनले भने, ‘यसलाई अझ व्यापक र प्रभावशाली बनाउने हाम्रो प्रतिबद्धता छ ।’ अवार्ड कार्यक्रमको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाउ रहेको छ भने सह-प्रायोजकमा गुरुड गहना घर र केल्मी नेपाल छन् । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully