नेपाल ‘ए’ द्वारा स्कटल्यान्ड पराजित

अमेरिकासम्मिलित लिग २ मा स्कटल्यान्डले मंगलबार नेपालसँग पहिलो खेलमा खेल्दै छ । तर नेपालको दोस्रो टोलीसँग पराजित भएपछि स्कटल्यान्डलाई सोच्न बाध्य बनाइदिएको छ ।

वैशाख २४, २०८३

विनोद पाण्डे

Nepal 'A' defeats Scotland

काठमाडौँ — क्रिकेट विश्वकप लिग २ को तयारीको क्रममा रहेको स्कटल्यान्डलाई नेपाल ‘ए’ ले पहिलो अभ्यास खेलमा बिहीबार ४५ रनले पराजित गरेको छ ।

अमेरिकासम्मिलित लिग २ मा स्कटल्यान्डले मंगलबार नेपालसँग पहिलो खेलमा खेल्दै छ । तर नेपालको दोस्रो टोलीसँग पराजित भएपछि स्कटल्यान्डलाई सोच्न बाध्य बनाइदिएको छ ।

वर्षाले प्रभावित खेलमा टस जितेर ब्याटिङ राजेको नेपाल ‘ए’ ले मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७७ रन बनाएको थियो । जबाफमा स्कटल्यान्ड ४८.२ ओभरमा २ सय ३२ रनमै अलआउट भयो ।

कप्तान अनिलकुमार साह ३८ बलमा २ चौकासहित १८ रनमा आउट भए पनि मयन यादव र देव खनालले इनिङ्स सम्हालेका थिए । मयनले ८६ बल खेल्दै ५ चौका र १ छक्कासहित ४५ रन बनाए । देवले ६५ बलमा ६ चौका र १ छक्कासहित ६३ रन जोडे । सन्दीप जोराले ३६ बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाए ।

कुशल मल्ल ३ र बसिर अहमद १७ रनमा आउट भए । पवन सर्राफले १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । नारायण जोशी एक छक्कासहित ८ रनमा आउट भए । दीपक डुम्रे ७ बलमा २३ र रशिद खान १० बलमा १४ रनमा अविजित रहे । दीपकले अन्तिम ओभरमा जास्पर डेभिडसनलाई लगातार ४ चौका र १ छक्का प्रहार गरेका थिए । स्कटल्यान्डका ब्राडली करी र साफयान सरिफले २–२ तथा ज्याक जार्भिस, ओलिभर डेभिडसन, ब्रान्डन म्याकमलेन र मार्क वाटले १–१ विकेट लिए ।

स्कटल्यान्डबाट फिन्ले म्याकरिएथले सर्वाधिक ५२ रन बनाए । ओपनरको रूपमा आएका उनले ७३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर वाटले ४० बलमा समान २ चौका र छक्कासहित ३७ रन बनाए । म्याकमलेनले ३० बलमा १ छक्कासहित २१ रन बनाए ।

कप्तान रिची बेरिङ्टन ३, म्याथ्यु क्रस २२, ओवेन गोउल्ड ६ र माइकल लिस्क ३ रनमा आउट भए । तल्लोक्रममा ज्याक जार्भिसले ४५, ओलिभरले १७ र जास्परले अविजित १४ रन बनाए । जार्भिसले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । नेपालबाट रशिदले ३ विकेट लिए । तल्लोक्रमका सबै ३ विकेट लिएका उनले ३.२ ओभरमा २३ रन खर्चे । शाहब आलम, युवराज खत्री र बसिर अहमदले २–२ र कुशलले १ विकेट लिए ।

नेपाल ‘ए’ ले शुक्रबार अमेरिका र शनिबार स्कटल्यान्डसँग खेल्नेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully