बुधबारबाट सुरु खेल वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।
धनकुटा — सैनिकबीच सामूहिक भावना अभिवृद्धि, अनुशासन विकास तथा उत्कृष्ट खेलाडीको पहिचान गर्ने उद्देश्यले धनकुटाको हिलेमा ‘वाहिनीपति ट्रफी’ सुरु भएको छ। श्री नं २ बाहिनी अड्डाको आयोजनामा हिलेस्थित महेन्द्र सैनिक शिविरको मैदानमा बुधबारदेखि प्रतियोगिता सुरु भएको हो।
बुधबारबाट सुरु खेल वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, स्विमिङ र एथलेटिक्स गरी नौ विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा धनकुटाको हिलेस्थित श्री नं २ बाहिनी अड्डा, सल्लेरीको भीमदल गण, सुनसरीस्थित भगवतीदल र भीमकाली गुल्म, मोरङको शिवदल गण, भोजपुरको नयाँ श्रीनाथ गण, संखुवासभाका इन्द्रदल गुल्म र रणदल गुल्म तथा तेह्रथुमको शत्रुमर्दन गुल्मका खेलाडीको सहभागिता रहेको बाहिनीपति दिवाकरविक्रम राणाले जानकारी दिए।
प्रतियोगिताका खेलहरू धनकुटाको हिलेस्थित ब्यारेक, सल्लेरी ब्यारेक र तल्लो टुँडिखेलमा सञ्चालन हुनेछन् ।
