नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

क्यानले जनाए अनुसार नेपाल ‘ए’ ले स्कटल्यान्डसँग बिहीबार र शनिबार तथा अमेरिकासँग शुक्रबार र सोमबार खेल्ने छ ।

वैशाख २३, २०८३

कान्तिपुर संवाददाता

Nepal 'A' to play Scotland and USA

काठमाडौँ — क्रिकेट विश्वकप लिग २ खेल्न आएका स्कटल्यान्ड र अमेरिकासँग नेपाल ‘ए’ ले २–२ अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार जनाए अनुसार नेपाल ‘ए’ ले स्कटल्यान्डसँग बिहीबार र शनिबार तथा अमेरिकासँग शुक्रबार र सोमबार खेल्ने छ । सबै खेल मूलपानीको माथिल्लो मैदानमा हुनेछ । 

क्यानका अनुसार यसअघि नै सार्वजनिक गरिएको खेल तालिका मौसमका कारण केही परिवर्तन गरिएको जनाएको छ । निर्धारित तालिका अनुसार नेपाल ‘ए’ र स्कटल्यान्ड बीचको पहिलो खेल बुधबार रहेको थियो । स्कटल्यान्डको टोली मंगलबार मात्र काठमाडौं आइपुगेको थियो । अमेरिकाका टोली बुधबार नेपाल आइपुगेको छ । 

स्कटल्यान्ड र अमेरिकाले नेपालसँग लिग २ को खेल खेल्दै छ । अमेरिका र स्कटल्यान्ड लिग २ को शीर्ष स्थानमा छन् भने नेपाल सातौं स्थानमा छ । नेपालले पहिलो दुई खेलमा स्कटल्यान्डसँग मंगलबार र अमेरिकासँग शनिबार खेल्दै छ । यसअघि दुई पटक नेपालको प्रशिक्षक रहेका पुबुदु दासानायकेको प्रशिक्षणमा अमेरिका काठमाडौं आएर खेल्न लागेको हो । 

अनिल साहको कप्तानीमा रहने नेपाल ‘ए’ बाट तृतराज दास, देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री, रशिद खान, दीपक डुम्रे, पवन सर्राफ, मयन यादव, शेर मल्ल, शाहव आलम रहेका छन् ।

कान्तिपुर

Link copied successfully