आयोजक रेसिङ सहारा कोहलपुर गोल्डकपको फाइनलमा

टिमले उत्कृष्ट पुुनरागमनका लागि धेरैपटक कोसिस गर्दासमेत फिनिसिङमा चुक्दा लालीगुुराँस २-१ पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

वैशाख २३, २०८३

रुपा गहतराज

Host Racing Sahara advances to Kohalpur Gold Cup final

नेपालगन्ज — बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकपमा कोहलपुर रेसिङ सहारा क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा लालीगुराँस एसोसिएसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै सहारा फाइनलमा प्रवेश गरेको हो ।

सहारालाई जिताउन पहिलो हाफको १६औं मिनेटमा निराजन खत्री र ३८औं मिनेटमा ओमप्रकाश चौधरीले उत्कृष्ट हेडर गोल गरेका थिए।  दोस्रो हाफमा भने लालीगुुराँसले कमब्याक गर्ने निकै कोसिस गर्‍यो । निकै प्रतिस्पर्धात्मक खेलमा पोखराका लागि दोस्रो हाफको ६८ औं मिनेटमा रोशन छन्त्यालले सान्त्वना गोल फर्काए ।

टिमले उत्कृष्ट पुुनरागमनका लागि धेरैपटक कोसिस गर्दासमेत फिनिसिङमा चुक्दा लालीगुुराँस २-१ पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ । चौथो संस्करणमा लगातार दुई खेल जितेको सहारा फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ ।  खेलको 'म्यान अफ द म्याच' सहारा क्लबका ओमप्रकाश चौधरी बने ।

उनलाई सहाराका अध्यक्ष चक्र चिमला क्षेत्री, संयोजक कर्ण बस्नेत र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रुपमा पुरस्कृत गरेका थिए । चौथो कोहलपुर गोल्डकप वैशाख २६ मा समापन हुनेछ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully