जितले मान्यता जोगिने आशा जीवितै

अघिल्लो खेलमा ‘ड्रप’ गरिएका आसिफ शेख र लगातार ४ खेलमा विकेट लिन नसकेका गुलशन झाले उच्च प्रदर्शन गरेपछि नेपाली टोली ओमानलाई पराजित गर्न सफल।

वैशाख २३, २०८३

विनोद पाण्डे

Hopes of securing recognition through victory remain alive

काठमाडौँ — कमजोर फर्मका कारण आसिफ शेखलाई नेपालले शुक्रबार खेलेको पछिल्लो खेलमा ‘ड्रप’ गरिएको थियो । गुलशन झाले पछिल्लो ४ खेलमा विकेट लिन सकेका थिएनन् । त्यसमा एक खेलमा त बलिङ नै गरेनन् ।

यिनै दुई खेलाडी चम्किएपछि नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार ओमानलाई ८१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आसिफले ९४ रन बनाएपछि टस जितेको नेपाल एक बलअघि ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भयो । गुलशनले ५ विकेट लिएपछि नेपालले जबाफमा आएको ओमानलाई ३९.५ ओभरमै १ सय ७५ रनमा समेटेको थियो ।

नेपालले लिग २ मा ओमानलाई कीर्तिपुरमा पहिलो पटक हराएको हो । यसअघि तीन पटक ओमानले नेपाललाई गृहमैदानमा पराजित गरेको थियो । यो जितले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना कायमै राखेको छ । यस शृंखलामा नेपालको तेस्रो जित हो । नेपालको २४ खेलबाट १८ अंक भएको छ र टोली सातौं स्थानमा यथावत् छ । ओमान २८ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ ।

आठ राष्ट्र सहभागी लिग २ मा अमेरिका २४ खेलमा ३६, स्कटल्यान्ड २८ खेलमा ३४, नेदरल्यान्ड्स २४ खेलमा २८, नामिबिया २८ खेलमा २२ र क्यानडा २४ खेलमा २१ अंकसहित पहिलो ६ स्थानमा छन् । २४ खेलमा १४ अंक जोडेको यूएई पुछारमा छ । लिग २ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।

आसिफले यसअघि ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो दोस्रो उच्च स्कोर हो । बाउन्ड्री लाइनमा क्याच भएपछि उनी दोस्रो शतक बनाउन चुकेका थिए । ‘त्यो बल मैले शट प्रहार गरेकै क्षेत्रमा आएको थियो र मैले त्यसलाई राम्रै प्रहार गरेको थिएँ, तर बाउन्ड्री लाइन बाहिर जान सकेन,’ आसिफले भने, ‘शतक बनाउन नसक्दा दुःखी छु, तर महत्त्वपूर्ण त नेपालले जितेको छ, त्यसले खुसी छु ।’

१२ बल सामना गरेपछि व्यक्तिगत खाता खोलेका आसिफले ६६ बलमा अर्धशतक पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको १४ औं अर्धशतक हो । उनले २०२४ को अक्टोबरमा अमेरिकाविरुद्ध ड्यालासमा ५२ रन बनाएयता एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका हुन् । त्यसयता उनले १२ खेल खेलिसके । लिग २ को पहिलो दुई खेलमा यूएई र ओमानविरुद्ध क्रमशः ७ र १९ रनमात्र बनाएपछि उनलाई यूएईसँगको अघिल्लो खेलमा ‘ड्रप’ गरिएको थियो ।

ओमानले पहिलो ओभर नै स्पिनरबाट सुरु गर्‍यो । देव्रेहाते स्पिनर सकिल अहमदले पहिलो ओभर मेडन फालेपछि जितेन रामानन्दीले दोस्रो ओभरको पहिलो बलमै विनोद भण्डारीलाई शून्यमा क्याच गराए । त्यसपछि आसिफ र अर्जुन कुमालले दोस्रो विकेटमा १ सय २३ रनको बलियो साझेदारी गरे । दोस्रो खेल खेलिरहेका अर्जुनले ४८ रन बनाए । उनले ८७ बलमा ४ चौका प्रहार गरे । अर्जुन २३ बलमा ५ रनमा हुँदा जीवनदान पाएका थिए । शर्ट थर्डमा नदिम खानले उनको क्याच छाडेका थिए । त्यसको अर्को बलमा अर्जुनले चौका प्रहार गरे । त्यस बावजुद पनि नेपालले १० ओभरको पावर प्लेमा २९ रनमात्र बनाउन सकेको थियो ।

२८ औं ओभरमा क्रिजमा आएका कप्तान रोहित पौडेल ९ रनमै आउट भए । गुलशनले २३ बल खेलेर २ चौकासहित १७ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । उनले ४२ बलमा १ चौका प्रहार गरे । करण केसी पहिलो बलमै आउट भए भने नन्दन यादव २ र सन्दीप लामिछाने १ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

आरिफ शेख अन्तिममा आउट भए । उनले २३ बलमा ४३ रन बनाए । उनले अन्तिम ओभरमा हसनाइन साहलाई लगातार तीन छक्का प्रहार गरे । ओमानबाट नदिम खानले ३ विकेट लिए । उनले १० ओभरमा ४१ रन खर्चे । साह र सकिलले २–२ विकेट लिए ।

गुलशनले सेप्टेम्बर २०२४ मा ओमानविरुद्ध नै क्यानडामा ५ विकेट लिएका थिए । उनले त्यही प्रदर्शन कीर्तिपुरमा दोहर्‍याउँदै दोस्रो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा एकै खेलमा ५ विकेट लिएका हुन् । ‘विगतको तुलनामा यो विकेट फरक छ, राम्रो रन बनिरहेको छ, तर फास्ट बलरहरूले अनुशासित बलिङ प्रर्दशन गरेका कारण विकेट लिन सफल भएजस्तो लाग्छ,’ गुलशनले भने, ‘आज हाम्रो बलिङ धेरै राम्रो भयो । सुरुदेखि नै विकेटहरू पाउदा पनि सजिलो भयो ।’

गुलशनले ५ विकेटका लागि ९ ओभरमा ३८ रन खर्चे । उनको यो व्यक्तिगत उत्कृष्ट बलिङ प्रदर्शन हो । सन्दीप लामिछाने, करण, दीपेन्द्र र नन्दनले १–१ विकेट लिए । नेपालविरुद्धको अघिल्लो खेलमा १ सय ३० रन बनाएका ओमानका कप्तान जतिन्दर सिंहलाई नन्दनले सातौं ओभरमा १२ रनमै आउट गरी विकेट लिन सुरु गरेका थिए । नन्दनले लगत्तै सिद्धार्थ बुक्कापटनम (०) लाई सिधा थ्रोमा रनआउट गरी नेपाललाई दोस्रो सफलता दिलाए ।

ओपनर हसनाइन उल वाहव २९ रनमा आउट भए । उनले ४३ बल खेल्दा ३ चौका र १ छक्का प्रहार गरे । हमाद मिर्जा ५१ बलमा ४ चौकासहित ३४, विनायक शुक्ला ४१ बलमा ३ चौका र २ छक्कासहित ३६, हसनाइन साह १० बलमा १४ रन बनाएर आउट भए । नेपालले अब अर्को साता अमेरिका र स्कटल्यान्डविरुद्ध हुने लिग २ कै शृंखला खेल्नेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully