कुनै बेलाकी एथलेटिक्सकी धाविका मानमती विष्ट अहिले कबड्डीमा कप्तानी भूमिकामा रहेर नेपाललाई उच्च सफलता दिलाइरहेकी छन्
काठमाडौँ — मानमती विष्टको दौडेर ‘ओलम्पियन’ बन्छु भन्ने दृढ संकल्प थियो । त्यसकै लागि कडा मिहिनेत पनि गरिन् । मध्यम दूरीको दौडमा आफूलाई अब्बल सावित गरिरहेकी थिइन् । तर, १२ औं दक्षिण एसियाली खेलकुद (साग) जस्तो ठूलो प्रतियोगितामा उनले आफ्नो इभेन्टमा सहभागिता जनाउन नै पाइनन् । त्यो खेल खेल्न नपाउँदाको पीडाबाट विक्षिप्त भइन् । त्यसपछि उनले दौड नै छाडिदिइन् । जसले उनको ओलम्पिक खेल्ने संकल्प नै टुटायो ।
जतिबेला मानमती एथलेटिक्स खेलाडी थिइन् । उनले मध्यम दूरीमा आफ्नो प्रभाव जमाइरहेकी थिइन् । सन् २०१६ मा भारतको गुवाहाटीमा १२ औं साग भएको थियो । ४०० मिटर दौडकी राष्ट्रिय च्याम्पियन थिइन् । त्यही इभेन्टमा भाग लिने सपना बोकेर उनी गुवाहाटी पुगिन् । तर उक्त इभेन्टमा उनको नामै दर्ता गरिएको रहेनछ । अर्कै खेलाडीले उनको इभेन्टमा सहभागिता जनायो । तत्कालीन ‘खेल राजनीति’ को सिकारमा परिन् मानमती ।
दशकअघिको त्यो घटना सम्झँदा मानमती अहिले पनि भावुक हुन्छिन् । तर, उनी घटनालाई केलाउन चाहँदिनन्, भुल्न चाहन्छिन् । जसले उनको धाविका बनेर ओलम्पिक खेल्ने बाटो नै मोडिदिएको थियो । उनका लागि नजिकिएको रियो ओलम्पिक २०१६ को बाटो बन्द भएको थियो ।
मानमतीले यत्ति मात्र सुनाइन्, ‘मेरो ठूलो सपनामाथि खेलबाड भयो, खेल्नै पाइनँ । धेरै कुरा बुझ्न पनि पाइनँ । त्यसपछि मनै मरेर गयो । एथलेटिक्स नै छाडिदिएँ ।’ तर उनी खेलकुदमै रहन चाहन्थिन् । खेलाडीको भोक मेटिएको थिएन । खेलाडी भएर नाम चम्काउन चाहन्थिन् ।
त्यो भोकलाई उनले अहिले अर्कै खेलबाट तृप्त पारिरहेकी छन् । खेल हो, कबड्डी । मानमती अहिले कबड्डीकी सफल महिला कप्तानकै रूपमा छाएकी छन् । भर्खर मात्र उनले छैटौं एसियन बिच गेम्सबाट नेपाललाई कांस्य पदक दिलाएकी छन् । उनले कप्तानी गरेयता नेपाली महिला कबड्डीले पाएको तेस्रो अन्तर्राष्ट्रिय सफलता थियो ।
मानमतीले आफ्नो कप्तानीमा गत वर्ष छैटौं एसियन कबड्डी च्याम्पियनसिप इरानमा कांस्य र पहिलो महिला कबड्डी टेस्ट सिरिजमा नेपाललाई उपाधि दिलाएकी थिइन् । उनकै कप्तानीमा नेपालले बंगलादेशमा दोस्रो कबड्डी विश्वकप २०२५ पनि खेल्यो ।
त्यसअघि नै उनी सम्मिलित नेपाली टिमले महिला कबड्डीमा ऐतिहासिक उपलब्धि जितिसकेको थियो । त्यसमा चीनको हाङचाउमा सम्पन्न १९ औं एसियाली खेलकुद २०२२ को कांस्य पदक पनि पर्दछ । त्यो नेपालले एसियाडमा टिम गेमतर्फ जितेको पहिलो कांस्य थियो । मेनुका राजवंशीको कप्तानीमा रहेको टोलीकी मानमती महत्त्वपूर्ण सदस्य थिइन् । घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रजत जितेर महिला कबड्डीले उचाइ चुम्दा उनी टोलीकी प्रभावशाली खेलाडी थिइन् ।
मानमतीको कबड्डीको डेब्यु नै अन्तर्राष्ट्रिय पदकबाट भएको थियो । २०७५ मा मलेसियामा सर्कल स्टाइल कबड्डीमा नेपालले कांस्य जित्दा मानमतीको पहिलो प्रतियोगिता थियो । त्यसको अर्को वर्ष भारतीय क्लबबाट खेलेर उनले सर्कल कबड्डी लिगमा स्वर्ण पदक नै जितेकी छन् ।
यी त उनले जितेका अन्तर्राष्ट्रिय सफलताहरू भए । २०७५ मा भक्तपुरमा भएको राष्ट्रिय महिला आमन्त्रण कबड्डी उनले खेलेको पहिलो राष्ट्रिय प्रतियोगिता थियो । जहाँ उनको टिम नेपाल पुलिस क्लबले स्वर्ण जित्यो भने उनी उत्कृष्ट खेलाडी भइन् ।२०६८ मा भएको छैटौं राष्ट्रिय खेलकुद (धनगढी) मा एथलेटिक्सबाट दुई स्वर्ण र दुई रजत जितेकी मानमतीले आठौं र नवौं राष्ट्रिय खेलकुदमा कबड्डीबाट रजत जितेकी छन् । एथलेटिक्सका दर्जन बढी पदक हुँदा अन्तर्राष्ट्रिय प्रतियोगिताको पदक भने उनीसँग छैन । जतिबेला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको सहभागिता नरहँदा आफ्नो पदक नभएको उनी सुनाउँछिन् । भन्छिन्, ‘त्यतिबेला विवाद, के–के कारणले गर्दा हो, नेपालको कमै मात्र अन्तर्राष्ट्रिय सहभागिता भयो । १२ औं सागमा आफ्नो इभेन्टमा पदक जित्छु भन्ने थियो, त्यो खेल्नै पाइनँ ।’
एथलेटिक्समा अन्तर्राष्ट्रिय पदक जित्न नसकेको पीडा अहिले कबड्डीबाट भुल्न पाउँदा मानमतीमा खुसीको सीमा छैन । ‘अहिले कबड्डीबाट सबै पीडा भुलिरहेको छु, राष्ट्रिय/अन्तर्राष्ट्रिय सफलता पाइरहेको छु, एकदमै खुसी छु,’ उनले सुनाइन्, ‘अब त्यो खुसीमा एसियाडको फाइनल खेल्ने लक्ष्य थप्न चाहन्छु ।’
‘मिसन २०२६’ नेपालले २० औं एसियाली खेलकुदका लागि बनाएको लक्ष्य हो । यसै वर्ष जापानमा हुने एसियाडका लागि विभिन्न खेलको प्रशिक्षण सुचारु छ । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव टंकलाल घिसिङले स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य बनाएर मिसन २०२६ को प्रशिक्षण क्याम्प १९ औं एसियाड सकिएको केही समयपछि नै सुरु गराएका थिए । त्यसमा महिला कबड्डी पनि छ । मानमती जापान एसियाड नेपाली महिला कबड्डीका लागि थप ऐतिहासिक बन्ने विश्वास गर्छिन् । उनले सुनाइन्, ‘हाम्रो अबको लक्ष्य एसियाड फाइनल खेल्ने हो, त्यसैको तयारीमा जुटेका छौं । हामीलाई विश्वास छ, त्यो हामी गर्न सक्छौं ।’
चीनको सान्यामै नेपाल फाइनल पुग्न सक्थ्यो । समूह विजेता बनेर नेपाल सेमिफाइनलमा पुगेको थियो । एकै दिन लिग चरणको अन्तिम खेल र सेमिफाइनल खेल्नुपर्दा नेपाली टोली फाइनल पुग्ने अवसरमा चुकेको थियो । पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ अंकले हराएको नेपालको दोस्रो खेल बंगलादेशसँग थियो । हावाहुरी र वर्षाका कारण उक्त खेल अर्को दिन सर्यो । समूह चरणमा नेपालले बंगलादेशसँग खेल्नुअघि थाइल्यान्डलाई पनि ४९–३३ को फराकिलो अन्तरले हरायो । अब नेपाल र बंगलादेश आपसमा भिड्नुअघि नै सेमिफाइनल पुगिसकेका थिए । त्यसैले त्यो भिडन्त समूह विजेताका लागि थियो । समूह विजेता बन्दा अर्को समूहको उपविजेता टोली सेमिफाइनलमा प्रतिद्वन्द्वी पाउँथ्यो । अर्को समूहबाट भारत विजेता र श्रीलंका उपविजेता भएर सेमिफाइनल पुगेका थिए ।
बिहानी सत्रमा बंगलादेशविरुद्ध खेलेर अपराह्न नेपालले सेमिफाइनल खेल्नुपरेको थियो । समूह विजेता बन्ने लक्ष्यमा नेपालले बंगलादेशसँग ३८–३६ अंकको संघर्षपूर्ण जित निकालेको थियो । केही घण्टाको विश्रामपछि नै श्रीलंकाविरुद्ध उत्रनुपर्यो ।
‘३६ डिग्रीको चर्को घाम अनि बालुवाको तातोमा एकै दिन लगातार दुई खेलले अलि थकित बनायो तर हामीले सक्दो प्रदर्शन दियौं, श्रीलंकालाई हामीले सागमा हराएकाले रोक्छौं भन्ने विश्वास थियो,’ कप्तान मानमतीले सान्याको खेलबारे बताइन्, ‘यही बिच गेम्सलाई भनेर धेरै तयारी गर्न पाएका थिएनौं । आमचुनावका कारण तयारी रोकिँदा केही समय धोबीघाट किनारा र केही दिन पटनामा गएर तयारी गरेका थियौं । सान्यामा बालुवा नै अर्कै किसिमको थियो, त्यसले गर्दा पनि हाम्रो तयारीसँग मिल्दोजुल्दो भएन ।’ नेपाल सेमिफाइनलमा श्रीलंकासँग ४६–२३ अंकले पराजित भएपछि कांस्यमा समेटिएको हो । समुद्री किनारामा अभ्यास गर्ने भएकाले श्रीलंकालाई ‘एडभान्टेज’ मिलेको मानमतीको तर्क थियो । उनले पहिलो पटक बिच गेम्स खेलेकाले पनि आफूहरू बालुवामा खेल्न अभ्यस्त भइनसकेको उनको अनुभव छ । तर टिमवर्क र सबैको सपोर्टले प्रदर्शन भने सोचेभन्दा राम्रो भएको उनले सुनाइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरकी मानमती स्कुले जीवनदेखि नै खेलसँग जोडिइन् । समथर भूभागमा हुर्किएकी उनी खेलकुदकै वातावरणमा हुर्किन् । कोही भलिबल, क्रिकेट, कबड्डी खेलिरहेका हुन्थे त कोही दौडिरहेका हुन्थे । स्कुलबाट राष्ट्रपति रनिङ सिल्डमा खेल्न पाउने भएपछि उनी रनिङमै लागेकी हुन् । रनिङमै राम्रो गर्दै गएपछि मानमती २०६६ मा पुलिस क्लबसँग आबद्ध भइन् । उनले स्मरण गरिन्, ‘त्यतिबेला निर्मला दिदी (बम) र गुरु दिनेश पालले पुलिस क्लबसँग आबद्ध गरिदिनु भएपछि मेरो खेलाडी करियरले उचाइ पाएको हो ।’
कबड्डी नेपालको परम्परागत खेलमा पर्छ । कुनै बेला यसैलाई राष्ट्रिय खेल भनिन्थ्यो । तर यसले आधिकारिकता भने पाएन । जुनसुकै भूभागमा पनि खेल्न सकिने यो खेल दक्षिण एसियामा लोकप्रिय खेलमा पर्छ । पछिल्लो समय नेपालमा पनि कबड्डी व्यावसायिक खेलमा परिणत भइरहेछ । पुरुषको त अघिल्लो वर्षदेखि फ्रेन्चाइज लिग एनकेएल नै सुरु भइसक्यो भने नेपालका खेलाडीहरू भारतको प्रो लिगमा पनि आबद्ध छन् ।
मानमती छिट्टै महिलाको फ्रेन्चाइज लिग सुरु होस् भन्ने चाहन्छिन् । यसले महिला खेलाडीको पनि आर्थिक स्तर र खेलको स्तर उकास्न ठूलो सहयोग पुग्ने उनको विश्वास छ । ‘फ्रेन्चाइज लिगको छिट्टै अनुभव गर्न पाइयोस्, कबड्डी स्तर यो माथि गएको हेर्ने अपेक्षा छ,’ मानमतीले इच्छा बताइन् ।
