यसका लागि आर्सनलले इमिरेट्समा एटलेटिको म्याड्रिडलाई १–० ले हराएको हो, बुकायो साकाको निर्णायक गोलको मदतले ।
काठमाडौँ — जम्मा जम्मी २४ घण्टाको अन्तरमा आर्सनलसामु एकै पल्ट दुई उपाधि जित्ने अवसर जुरेको छ, इंग्लिस प्रिमियर लिग र युरोपेली च्याम्पियन्स लिग ।
आर्सनलको सोमबार खेल थिएन्, तर म्यानचेस्टर सिटी एभरटनको हातबाट बराबरीमा रोकिएपछि प्रिमियर लिग उपाधिको होड उसकै पक्षमा मोडिएको छ । अनि मंगलबार मिखेल आर्टेटाको आर्सनलले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ, त्यो पनि २० वर्षपछि ।
यसका लागि आर्सनलले इमिरेट्समा एटलेटिको म्याड्रिडलाई १–० ले हराएको हो, बुकायो साकाको निर्णायक गोलको मदतले । अप्रिल १९ मा आर्सनलले सिटीको हातबाट लिगमा पीडायादी हार बेहोरेको थियो । तर अब यो बिर्सनलायक खेल भएको छ, किनभने उत्तरी लन्डन क्लब अगाडि अब दुई ठूला उपाधि जित्ने अवसर तयार भएको छ । मिडफिल्डर डेक्लेन राइसले भनेका छन्, ‘हाम्रो टिम कति धेरै सक्षम छ, त्यो हामीलाई मात्र थाहा छ ।’
उनी थप्छन्, ‘मलाई के लाग्छ भने सिटीविरुद्धको खेल खासमा उपाधिको छिनोफानो हुने खेल थिएन् । पक्कै पनि हामी त्यसमा पराजित रह्यौं । तर यो नै सबथोकको अन्त्य थिएन् ।’ मार्च र अप्रिलबीच आर्सनल सबै प्रतियोगिताका छ खेलमध्ये एकैमा मात्र विजयी रह्यो । उपाधि होडको दबाबले आर्सनल फेरि एकपल्ट टुट्न सक्ने डर उत्पन्न भएको थियो । आखिर आर्सनल त्यही टिम हो, जसले पछिल्ला तीन सिजन लिगमा दोस्रो स्थानमै चित्त बुझाएको थियो ।
त्यो पनि उपाधि जित्न सक्ने स्थितिबाट । तर अब यही आर्सनलको भाग्य चम्किने दिन फर्केको छ । लिगमा लगातार दुई जित र एटलेटिकोमाथिको अहिलेको सफलतापछि आर्सनलले मे ३० मा हुने खेल फाइनलको टिकट काटेको छ । त्यहाँ उसलाई पर्खिरहने टिम हुनेछ, कि त डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) अथवा बायर्न म्युनिक । आर्टेटाले आर्सनल आएयता जितेको एक मात्र उपाधि भनेको सन् २०२० को एफएकप रहेको छ ।
अहिले यिनै आर्टेटा भन्छन्, ‘असाध्यै धेरै उतारचढाव देखियो । फुटबलमा यस्तै हुन्छ । हाम्रो काम यसमा रमाउने मात्रै हो, किनभने कति बेला कस्तो मौका आउने हो, थाहा हुन्न ।’ लिगमा आर्सनललाई सिटीमाथि पाँच खेलको अग्रता प्राप्त छ, भलै सिटीले एक खेल कम खेलेको छ । अनि लिगमा अब तीन चरणका खेल मात्र बाँकी छन् । त्यसैले अब आर्सनल खालि चार खेलबाट मात्र टाढा छ, सन् २००४ यता पहिलो लिग उपाधि जित्न ।
अनि क्लब इतिहासमै पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग जित्न । त्यसैले आर्टेटा भन्छन्, ‘धेरै वर्षको मिहिनेतपछि खुसी फर्केको छ । खेलाडी र समर्थकको अनुहारमा प्रसन्तता जब देख्न सकिन्छ, यो असाध्यै सुन्दर हुन्छ ।’ राइस भने पछिल्लो तीन वर्षमा लिग जित्न नसक्नु र पोहोरको सिजन सेमिफाइनलमा पीएसजीसँग हार्नुले टिमलाई अझ बलियो बनाएको मान्छन्, मानसिक र शारीरिक दुवैमा ।
उनी तर्क गर्छन्, ‘पछिल्ला केही सिजन के कस्तो भयो, हामीले कतिको मिहिनेत गरेका थियौ, लिगमा कति साँघुरा हार बेहोरेका थियौं, कप प्रतियोगितामा जसरी बाहिरिएका थियौं, यसले खेलाडीलाई दुःख नै दिन्छ । यस्तो स्थितिमा सम्हाल्ने भनेको प्रशिक्षकले नै हो । हाम्रो काम विश्वास कायम राख्ने, टिम बलियो बनाउने नै हो । पछिल्ला केही खेलपछि अब हामी वास्तवमै बलियो स्थितिमा आइपुगेका छौं ।’
