यस जितसँगै आर्सनलले दुई लेगको सेमिफाइनलमा समग्रमा २–१ को अग्रता लिन सफल रह्यो । म्याड्रिडमा भएको पहिलो लेगको सेमिफाइनल १–१ को बराबरीमा टुंगेको थियो ।
काठमाडौँ — आर्सनलले २० वर्षयता पहिलो पटक मंगलबार युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ र यसका लागि उसले एटलेटिको म्याड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा १–० ले हरायो । इमिरेट्समा भएको खेलमा बुकायो साकाले ४४ औं मिनेटमा निर्णायक गोल गरे ।
यस जितसँगै आर्सनलले दुई लेगको सेमिफाइनलमा समग्रमा २–१ को अग्रता लिन सफल रह्यो । म्याड्रिडमा भएको पहिलो लेगको सेमिफाइनल १–१ को बराबरीमा टुंगेको थियो । अब फाइनलमा आर्सनलको सामना पेरिस सेन्ट जर्मेन (पीएसजी) अथवा बायर्न म्युनिकमध्ये एकसँग हुनेछ ।
सन् २००६ मा आर्सनलले च्याम्पियन्स लिगको फाइनल खेलेको थियो र बार्सिलोनाको हातबाट हार बेहोरेको थियो । उसले अहिलेसम्म युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता भने जित्न सकेको छैन् । आर्सनल इंग्लिस प्रिमियर लिगको पनि शीर्ष स्थानमा छ र उपाधि जित्ने संघारमा छ ।
आर्सनलले अहिलेसम्म युरोपका दुई उपाधि जितेको छ । त्यसमा सन् १९९४ को कप विनर्स कप र सन् १९७० को इन्टर सिटी फियर्स कप रहेको छ । आर्सनलले अन्तिम पटक सन् २०१९ मा युरोपा लिगको फाइनल खेलेको थियो र त्यसमा चेल्सीसँग पराजित रहेको थियो ।
