पञ्चकन्या रूपन्देही सुपरलिगमा तिरुपतिको सहज जित

जितका लागि पाएको ४८ रनको झिनो लक्ष्य तिरुपतिले ४ ओभर १ बलमा एक विकेट गुमाउँदै पूरा गरेको हो । तिरुपतिको जितमा आकाश त्रिपाठीले ३६ र सन्दीप मौर्यले १३ रन बनाए ।

वैशाख २२, २०८३

माधव ढुंगाना

Tirupati wins easily in Panchakanya Rupandehi Super League

भैरहवा — पञ्चकन्या रूपन्देही सुपरलिगअन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिरुपतिले बुटवल राइनोजमाथि सहज जित निकालेको छ । भैरहवामा जारी खेलमा मंगलबार तिरुपतिले बुटवल राइनोजमाथि ९ विकेटको जित निकालेको हो ।

जितका लागि पाएको ४८ रनको झिनो लक्ष्य तिरुपतिले ४ ओभर १ बलमा एक विकेट गुमाउँदै पूरा गरेको हो । तिरुपतिको जितमा आकाश त्रिपाठीले ३६ र सन्दीप मौर्यले १३ रन बनाए । बलिङमा बुटवलका शिव कुँवरले १ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा २० ओभर २ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ४७ रन बनाएको थियो ।

बुटवल राइनोजलाई सस्तैमा रोक्न तिरुपतिका अपराजित पौडेलले ४, आकाश त्रिपाठीले २ तथा मोम्मद हुसेन गद्दी, तुलराम सुनार र तुलबहादुर थापाले १–१ विकेट लिए । 

बुटवल राइनोजका सुरेन्द्र गन्धर्वले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलमा अपराजित पौडेल ‘प्लेयर अफ द म्याच’ भए ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully