शेख दाजु भाईको योगदानमा नेपालद्वारा ओमानलाई ठूलो लक्ष्य

टोलीको प्लेयिङ ११ मा फर्किएका आसिफले उत्कृष्ट ब्याटिङ गरेपछि मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भयो ।

वैशाख २२, २०८३

विनोद पाण्डे

Nepal sets big goal for Oman thanks to Sheikh Daju Bhai's contribution

काठमाडौँ — आसिफ शेखको ९४ रनमा नेपालले क्रिकेट विश्वकप लिग २ मा ओमानलाई २ सय ५७ रनको लक्ष्य दिएको छ ।

टोलीको प्लेयिङ ११ मा फर्किएका आसिफले उत्कृष्ट ब्याटिङ गरेपछि मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको  नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भयो ।

कमजोर प्रदर्शनका कारण अघिल्लो खेले खेलेको नेपाली टोलीमा हटाइएका आसिफले ९७ बल खेली ७ चौका र ५ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको दोस्रो उच्च स्कोर हो । उनी बाउन्ड्री लाइनमा क्याच भएपछि दोस्रो शतक बनाउन चुकेका थिए ।

ओमानले पहिलो ओभर नै स्पिनरबाट सुरु गरेको थियो । देव्रेहाते स्पिनर सकिल अहमदले पहिलो ओभर मेडन फालेपछि जितेन रमानन्दीले दोस्रो ओभरको पहिलो बलमै विनोद भण्डारीलाई शुन्यमा क्याच गराए । त्यसपछि आसिफ र अर्जुन कुमालले दोस्रो विकेटमा १ सय २३ रनको साझेदारी गरे । दोस्रो खेल खेलिरहेका अर्जुनले ४८ रन बनाए । उनले ८७ बल खेली ४ चौका प्रहार गरे । 

२८ औं ओभरमा क्रिजमा आएका कप्तान रोहित पौडेल ९ रनमा आउट भए । गुलशन झाले २३ बल खेली २ चौकासहित १७ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । उनले ४२ बल खेली १ चौका प्रहार गरे । तर करण केसी पहिलो बलमै आउट भए भने नन्दन यादव २ र सन्दीप लामिछाने १ रनमा आउट भए ।

आरिफ शेख अन्तिममा आउट भए । उनले २३ बलमा ४३ रन बनाए । उनले अन्तिम ओभरमा हसनाइन साहलाई लगातार तीन छक्का प्रहार गरेका थिए । ओमानबाट नदिम खानले विकेट लिए । उनले १० ओभरमा ४१ रन खर्चे । साह र सकिलले २–२ विकेट लिए । 

लिग २ को यस शृंखलामा यो अन्तिम खेल हो । नेपालले यूएईविरुद्ध शुक्रबार खेलेको टोलीबाट दुई खेलाडी परिवर्तन गर्दै भीम सार्की र सोमपाल कामीको स्थानमा आसिफ र करणलाई खेलाएको थियो । ओमानविरुद्ध अघिल्लो खेलमा नेपाल डकवर्थ लुइस पद्धतिका आधारमा १ सय २ रनले पराजित भएको थियो । नेपालले यूएईविरुद्धको दुबै खेल जितेको थियो । ओमन भने यूएईस“ग दुबै खेलमा पराजित भएको थियो । 

नेपाल २३ खेलमा १६ अंक जोडि सातौं स्थानमा यथावत छ । ओमान २७ खेलमा ३१ अंक जोडि तेस्रो स्थानमा छ । नेपाल लिग २ मा ओमानस“ग कीर्तिपुरमा भएका तीनै खेलमा पराजित भएको छ । २०२३ को एसिया कप छनोटमा भने कुशल मल्लको शतकमा नेपालले ओमानलाई पराजित गरेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully