चाबहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा मंगलबार फाइनलमा मनास्लुले बाल व्यवसायी केन्द्र माविलाई २–० गोलले हराएर उपाधि रक्षा गर्यो ।
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मनास्लुले चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
चाबहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा मंगलबार फाइनलमा मनास्लुले बाल व्यवसायी केन्द्र माविलाई २–० गोलले हराएर उपाधि रक्षा गर्यो । म्यान अफ द म्याच विमल तामाङ र संगम तामाङले १–१ गोल गरे । मनास्लुले ३० हजार र बाल व्यवसायीले १५ हजार पुरस्कार जिते ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा मनास्लुका संगम तामाङ सर्वोत्कृष्ट खेलाडी, मनास्लुका विमल तामाङ उत्कृष्ट खेलाडी, बाल व्यवसायीका अर्जुन खडायत उत्कृष्ट डिफेन्डर, मनास्लुका मेवाङ लामा उत्कृष्ट गोलरक्षक तथा क्लिन्टनका अतुल्य पाण्डे उदीयमान खेलाडी घोषित भए । सबैले जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।
विजेतालाई एन्फाका उपाध्यक्ष विराटजंग शाही, आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले पुरस्कृत गरे । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा १९ टिम सहभागी थिए ।
