बिर्तामोड युनाइटेडलाई रारा गोल्डकपको उपाधि

पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले आयोजक रारा फुटबल क्लबलाई हराउँदै बिर्तामोड युनाइटेडले उपाधि हात पारेको हो।

वैशाख २२, २०८३

विनोद घिमिरे

Birtamod United wins Rara Gold Cup title

What you should know

धनकुटा — धनकुटाको राजारानीमा सम्पन्न १३औं  संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता झापाको बिर्तामोड युनाइटेडले हात पारेको छ। 

पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले आयोजक रारा फुटबल क्लबलाई हराउँदै बिर्तामोड युनाइटेडले उपाधि हात पारेको हो।

धनकुटा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औं संस्करण पनि बिर्तामोड युनाइटेडले नै जितेको थियो।

निर्धारित ९० मिनेटको अन्तिममा समयमा आयोजक राराले एक गोल गर्दै बिर्तामोडमाथि अग्रता लिएको थियो। अतिरिक्त नौ मिनेटमा राराविरुद्ध बिर्तामोडले एक गोल फर्काएर खेल बराबरीमा पुर्‍याएको हो । यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टी सुटआउटमा आयोजक रारा फुटबल क्लब बिर्तामोडसँग ५-४ गोल अन्तरले पराजित भयो।

उपाधि विजेता बिर्तामोड युनाइटेडका दिवस उराउ, संजय लिम्बु, मौसम सुब्बा, विवेक पौडेल र प्रशान्त लक्षमले गोल गरेका थिए। यस्तै उपविजेता बनेको रारा फुटबल क्लबका तर्फबाट किरण चेम्जोङ, विशाल भण्डारी, मणि लामा र शिशिर लेखीले गोल गरे। दिपेश गुरुङको प्रहारलाई भने बिर्तामोड युनाइटेडका गोल रक्षकले विफल पारिदिएका थिए। यससँगै उपाधि विजेता बिर्तामोड युनाइटेडले ७ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ। यस्तै उपविजेतामा सीमित रारा फुटबल क्लबले ३ लाख रुपैयाँमा चित्त बुझायो।

खेलको 'म्यान अफ द म्याच' बिर्तामोड युनाइटेडका प्रशान्त लक्षम भए। उदीयमान खेलाडीको उपाधि रारा फुटबल क्लबका लोकेन्द्र लिम्बुले प्राप्त गरे। उत्कृष्ट गोलकिपर बिर्तामोड युनाइटेडका कप्तान अभिषेक बराल भए। यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार बिर्तामोड युनाइटेडका राजेश दाहालले प्राप्त गरे। उनले प्रतियोगिता अवधिमा ४ गोल गरेका थिए। उत्कृष्ट खेलाडी रारा फुटबल क्लबका कप्तान किरण चेम्जोङ भए।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully