इंग्लिस प्रिमियर लिगमा आइतबार आफ्नो पुरानो प्रतिद्वन्द्वी लिभरपुललाई ३–२ ले हराएपछि युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने तय भएको हो, त्यो पनि दुई वर्षको अनुपस्थितिपछि ।
What you should know
काठमाडौँ — अन्ततः म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो पुर्नआगमन रचेको छ । इंग्लिस प्रिमियर लिगमा आइतबार आफ्नो पुरानो प्रतिद्वन्द्वी लिभरपुललाई ३–२ ले हराएपछि युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने तय भएको हो, त्यो पनि दुई वर्षको अनुपस्थितिपछि । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडका लागि कोबी मेइनुले निर्णायक गोल गरे ।
डिफेन्डिङ च्याम्पियन लिभरपुलले दुई गोलले पछाडि रहेको स्थितिबाट खेल बराबरीमा ल्याएपछि प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो । यो जितपछि प्रशिक्षक माइकल क्यारेकले त्यो काम गरेको छ, जसका लागि जनवरीमा उनलाई जिम्मेवारी सुम्पिएको थियो । त्यति बेला उनलाई सिजनको अन्त्यसम्म मात्र क्लब हेर्न भनिएको थियो । खराव स्थितिबाट क्यारेकले युनाइटेडलाई अहिले तेस्रो स्थानमा पुर्याएका छन् ।
त्यति मात्र होइन्, उनले यसैक्रममा आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुलविरुद्ध पनि जित रहेर आफ्नो उपयोगिता सिद्ध गरेका छन् । त्यसैले अब त्यो माग बलियो हुन थालेको छ, जसले भन्छ, क्यारेकलाई लामो समयकै लागि प्रशिक्षक पदमा नियुक्त गर्दा हुन्छ । खेलपछि युनाइटेडका फरवर्डा म्याथेस कुन्हाले भनेका छन्, ‘माइकल जादुयी छन्, उनी एलेकस फर्गुसनको भाव ल्याउने गर्छन् ।’
उनले थपे, ‘खासमा भन्दा हाम्रो यात्रा त भर्खर सुरु भएको छ र यो सुरुआत असाध्यै सुन्दर रहेको छ ।’ पूर्व प्रशिक्षक फर्गुसनलको पनि लिभरपुलविरुद्धको खेल हेर्न कार्यक्रम थियो, तर सन्चो नभएपछि खेल सुरु हुन अगाडि उनलाई अस्पताल भर्ना गरिएको थियो । तर खेल सकिंदा भने ओल्ड ट्रायफोर्डमा खुसीयालीको स्थिति बनेको थियो । सन् २०१५–२०१६ यता युनाइटेडले लिभरपुलविरुद्ध पहिलो पटक ‘लिग डबल’ पनि गरेको छ ।
यो नतिजापछि युनाइटेडले चौथो स्थानमा रहेको लिभरपुलमाथि छ अंकको अग्रता लिएको छ र लिगमा अब तीन चरणका खेल मात्र बाँकी छन् । गत सिजन आर्ने स्लटको लिभरपुलले उपाधि जत्दा युनाइटेड आफ्नो त्यो प्रतिद्वन्द्वी भन्दा ४२ अंकले पछाडि थियो, त्यसैले अहिलेको प्रदर्शनलाई उच्च मानिएको छ । जनवरी १३ मा क्यारेकलाई अनुबन्ध गरेयता युनाइटेडले १४ खेलबाट ३२ अंक बटुलेको छ ।
इंग्ल्यान्डको माथिल्लो डिभिजनमा यो कुनै पनि क्लबको सबैभन्दा उच्च प्रदर्शन हो । ‘हामी अहिले लयमा फर्केका छौं,’ क्यारेक आफैं भन्छन्, ‘हामीले यसक्रममा ठूल ठूला विपक्षी टिमलाई हराउन सकेका छौं । यो काम आफैमा चुनौतीपूर्ण भने थियो । अहिले म आफूले गरेको काममा खुसी छु । यो मेरो लागि अनुकुल स्थिति पनि हो । यो सबै कुरा मैले इमान्दारितापूर्वक भनिरहेको छु ।’
क्यारेक आउन अगाडि त्यति बेलाका प्रशिक्षक रुबेन एमोरिम वर्खास्तीमा परेका थिए । कीर्तिमान २० पल्टको इंग्लिस च्याम्पियन युनाइटेडले सन् २०१३ मा फर्गुसनले क्लब छाडेयता फेरि दोहराएर लिग उपाधि जित्न सकेको छैन् । त्यसबीच युनाइटेडले छ स्थायी व्यवस्थापक अथवा प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । क्यारेकले भने आफ्नो सम्भावनालाई लिएर सिजनको अन्त्यमा मात्र कुरा गर्ने बताइरहेका छन् ।
