५० ओभरको खेललाई मौसमको प्रतिकुलताका कारण २० ओभरमा छोट्याइएको थियो ।
भैरहवा — पञ्चकन्या रुपन्देही सुपर लिग ‘ए’ डिभिजनअन्तर्गत आइतबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित निकालेको छ ।
तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै लुम्बिनी खुकरी विजयी भएको हो । ५० ओभरको खेललाई मौसमको प्रतिकुलताका कारण २० ओभरमा छोट्याइएको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा उक्त प्रतियोगिता सञ्चालित छ ।
जितका लागि पाएको ८० रनको लक्ष्य लुम्बिनी खुकुरीले १० ओभर ५ बलमा ३ विकेटको नोक्सानीमा सहजै पूरा गर्यो । उसको जितमा निश्चल चौधरीले अविजित २६, सन्दीप रजालीले नटआउट २०, शंकर रानाले १५ र समीर अली मुसलमानले १० रनको योगदान दिए । तिरुपतिका तुलबहादुर थापा २ र अपराजित पौडेलले १ विकेट लिए ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको उक्त खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ७९ रन बनायो । उसलाई सस्तैमा रोक्न खुकुरीका शाहव आलमले ३, बैतुल्लाह खान र अजयकुमार चौहानले २–२ तथा दुर्गेश गुप्ता र सेजाद आलम धोवीले १–१ विकेट लिए ।
तिरुपतिका आकाश त्रिपाठीले २७ र रौनक श्रीवास्तवले २४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा शाहब आलम प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैया नगर पुरस्कार प्राप्त गरे ।
