हैदरावादमा भएको खेल जितेपछि कोलकाताको सात अंक भएको छ र आठौं स्थानमा छ ।
What you should know
काठमाडौँ — कोलकाता नाइटराइडर्सले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गर्दै आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सनराइजर्स हैदरावादलाई सजिलै सात विकेट पराजित गरेको छ । हैदरावादमा भएको खेल जितेपछि कोलकाताको सात अंक भएको छ र आठौं स्थानमा छ । हैदरावाद भने हारका बावजुत १२ अंकमा अझै तेस्रो स्थानमा छ । यो खेल जितेको भए हैदरावादसामु शीर्ष स्थानमा उक्लने अवसर थियो ।
जितका लागि १ सय ६६ रन पछ्याउने क्रममा कोलकाताले १८.२ ओभर मात्र उपयोग गरेर तीन विकेट गुमाउँदै १ सय ६९ रन बनायो । त्यसमा रिन्कु सिंह ११ बलमा २२ रन जोडेर नटआउट रहे । कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक रन बनाए । उनले ४७ बलमा ५९ रन बनाए । उनको इनिङ्समा पाँच चौका र दुई छक्का सामेल थियो । यस्तै, अर्का ओपनर फिल एलेनले १३ बलमा २९ रन बनाए ।
उनले पहिलो विकेटका लागि कप्तान अजिन्के रहानेसँग ४९ रनको साझेदारी गरे । त्यसछि रहानले रघुवंशीसँग मिलेर थप ८४ रनको साझेदारी गरे । रहानले ३६ बलमा ४३ रन बनाए र त्यसमा चार चौका तथा एक छक्का सामेल थियो । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हैदरावाद १९ ओभर मात्र टिक्यो र यसक्रममा सबै विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।
ओपनर ट्रेभिस हेडले २८ बलमै ६१ रन जोडे । उनले नौ चौका र तीन छक्का प्रहार गरे । यस्तै, इसान किसानले २९ बलमा ४२ रन जोडे । उनीहरूले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे । किसनले भने चार चौका र दुई छक्का प्रहार गरे । उनीहरू आउट भएपछि हैदरावादले लगातार विकेट गुमााएको थियो । कोलकाताका बलरमध्य वरुण चक्रवर्तीले ३६ रन खर्चेर तीन विकेट लिए ।
