यससँगै आर्सनलसामु २२ वर्षयता पहिलो पटक लिग उपाधि जित्ने अवसर पनि बनेको छ ।
काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार फुलहमलाई सजिलै ३–० ले पराजित गरेपछि शीर्ष स्थानमा छ अंकको अग्रता लिएको छ । यससँगै आर्सनलसामु २२ वर्षयता पहिलो पटक लिग उपाधि जित्ने अवसर पनि बनेको छ ।
इमिरेट्समा भएको खेलमा तीनै गोल पहिलो हाफमा भएका थिए । त्यसमध्ये भिक्टोर ग्योकुरेसले दुई तथा बुकायो साकाले एक गोल गरे । यो नतिजापछि आर्सनलको ३५ खेलबाट ७६ अंक भएको छ । म्यानचेस्टर सिटी ३३ खेलबाट ७० अंकमा दोस्रो स्थानमा छ ।
अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई ३–० ले हरायो । हारले वेस्ट ह्यामाथि रेलिगेसनको डर फेरि बढेको छ । अन्य खेलमा न्युकासल युनाइटेडले ब्राइटनलाई ३–१ ले हरायो भने उल्भ्स र सन्डरल्यान्डले १–१ को बराबरी खेले ।
