स्टेबल फोर्ड फर्म्याटमा ३/४ ह्यान्डीक्यापमा भएको प्रतिस्पर्धामा उज्ज्वलले कुल ४० अंक बटुल्दै पुरस्कारस्वरूप सुनको बल जितेका हुन् । तरुण अग्रवाल रनरअप बने ।
काठमाडौँ — गोकर्ण गल्फ क्लबमा शनिबार आयोजित नवौं संस्करणको एनसेल बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगितामा उज्ज्वल प्रधानाङ्गले विजेता बन्दै सुनको गल्फ बल जितेका छन् ।
स्टेबल फोर्ड फर्म्याटमा ३/४ ह्यान्डीक्यापमा भएको प्रतिस्पर्धामा उज्ज्वलले कुल ४० अंक बटुल्दै पुरस्कारस्वरूप सुनको बल जितेका हुन् । तरुण अग्रवाल रनरअप बने । उनी उज्ज्वलभन्दा एक अंकले पछि थिए । महिलातर्फ विपना श्रेष्ठ विजेता भइन् । उनले ३७ अंक जोडेकी थिइन् । निकटतम प्रतिद्वन्द्वी आस्था दुलाल रनरअप भइन् । उनले ३४ अंक प्राप्त गरिन् ।
सिनियर विधा ६० वर्षमाथि विजयबहादुर श्रेष्ठ विजेता बने । उनले ३४ अंक बटुलेका थिए । बेस्ट ग्रसको उपाधि आङगेलु ढेन्डुपले जिते भने क्लोजेस्ट टु दी पिनमा कञ्चन बस्नेत सफल भए । लङगेस्ट ड्राइभको उपाधि दिकेश मल्होत्राले जितेका थिए । मोस्ट बर्डिजमा तरुण अग्रवाल सफल भए । कर्पोरेट गल्फमा महिला र पुरुष गरी १ सय ५ जनाले सहभागिता जनाएका थिए । विशेष आकर्षणको रूपमा रहेको ‘होल इन वान’ को पुरस्कार यो वर्ष पनि कसैले जित्न सकेनन् । त्यसमा ‘बीवाईडीको एट्टो टु’ कार पुरस्कार रहेको थियो ।
गत वर्ष पुरुषमा दोर्जे होजाङस्टाङ र महिलामा आरती राज्यलक्ष्मी राणाले उपाधि जितेका थिए । बाह्रखरी मिडियाले गल्फ प्रतियोगितासँगै आर्थिक परिसंवाद पनि आयोजना गरेको थियो । विजेता खेलाडीलाई कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान, प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्ले, साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
