सिटिजन्स खुला टेनिसमा प्रदीप र शिभाली च्याम्पियन

त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई २–६, ६–३, ६–४ को सेटमा हराए । महिलाको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टमाथि ३–६, ६–३, ६–१ को सेटमा जित पाइन् ।

वैशाख १९, २०८३

कान्तिपुर संवाददाता

Pradeep and Shivali are champions at the Citizens Open Tennis

काठमाडौँ — प्रदीप खड्का र शिभाली गुरुङ शनिबार १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । सिंगल्सतर्फ पुरुषमा प्रदीप र महिलामा शिभाली विजेता हुँदा दुवैले २–१ को सेटमा नतिजा हात पारेका हुन् ।

दुवैले पहिलो सेट गुमाएर खेल आफ्नो पक्षमा पारेका थिए । त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई २–६, ६–३, ६–४ को सेटमा हराए । महिलाको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टमाथि ३–६, ६–३, ६–१ को सेटमा जित पाइन् ।

पुरुष डबल्समा प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी, ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र छेवाङ लामाको जोडी, ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्री, ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडी पहिलो भएका थिए ।

५५ वर्षमाथि पुरुष सिंगलमा विमलकुमार गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडी, ६५ वर्षमाथि पुरुष सिंगलमा कमल थापा, ६५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा ढुन्डुपको जोडी तथा ७० वर्षमाथि पुरुष सिंगलमा धीरबहादुर गुरुङ च्याम्पियन बनेका थिए ।

Pradeep and Shivali are champions at the Citizens Open Tennis

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताका विजेतालाई सिटिजन्स बैंकका निर्देशक विजयध्वज कार्की र सीईओ गणेशराज पोखरेल, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, आयोजक संघका अध्यक्ष प्रवीण वैद्यलगायतले पुरस्कृत गरे ।

विभिन्न १२ स्पर्धामा १ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सबै स्पर्धाका पदक विजेतालाई कुल ५ लाख ६८ हजार ७ सय ५० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । त्यसबाहेक सिटिजन्स बैंकले पुरुष/महिला सिंगलका विजेता र उपविजेतालाई छुट्टै १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार उपलब्ध गराएको थियो ।

कान्तिपुर

Link copied successfully