राष्ट्रिय प्रतियोगिताको र्यापिड खेलमा २१३६ रेटेट खेलाडी क्षितिज भण्डारीले ९ चरण स्पर्धामा ८.५ अंक जोडेर उपाधि आफ्नो नाममा गरे । महिला राष्ट्रिय र्यापिडतर्फ १७५९ रेटेड कृतिसरा अधिकारीले एकल ६ अंक जोडेर राष्ट्रिय विजेता बनिन् ।
What you should know
काठमाडौँ — उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय र्यापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुवै विधामा विजयी बनेका छन् ।
राष्ट्रिय प्रतियोगिताको र्यापिड खेलमा २१३६ रेटेट खेलाडी क्षितिज भण्डारीले ९ चरण स्पर्धामा ८.५ अंक जोडेर उपाधि आफ्नो नाममा गरे । भण्डारीले व्यक्तिगत ३१.४ रेटिङ वृद्धि गर्दै २३६० को रेटिङ पर्फमेन्स गर्न सफल रहे।
यस्तै, ब्लिट्ज विधामा पनि मकवानपुरका क्षितिज भण्डारीले पूर्ण ९ अंक जोडेर राष्ट्रिय विजेता बने । शीर्ष २२३३ रेटेड खेलाडी भण्डारीले व्यक्तिगत २६ रेटिङ बढाउँदै २६५१ रेटिङको सर्वोत्कृष्ट खेल पर्फम गरेका छन् ।
महिला राष्ट्रिय र्यापिडतर्फ १७५९ रेटेड कृतिसरा अधिकारीले एकल ६ अंक जोडेर राष्ट्रिय विजेता बनिन् । झापा जिल्लाका कृतिसराले व्यक्तिगत २१.८ रेटिङ वृद्धि गर्दै १९१० रेटिङ बराबरको खेल पर्फम गरेकी छन् ।
चौथो वरियताकी १६६७ रेटेड कृतिसराले ब्लिट्ज विधातर्फ ६.५ अंक बनाउँदै व्यक्तिगत ४० रेटिङ सुधार गरेकी छिन् । उनले ७ चरणको स्पर्धामा २०१० रेटिङ पर्फम गर्न भ्याइन्।
यससँगै राष्ट्रिय विजेता भण्डारीले नगद रु. ५० हजार पुरस्कार प्राप्त गरेका छन् भने महिला विजेता अधिकारीले नगद रु. १५ हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
यसैगरी र्यापिड खेलमा दोलखाका २११३ रेटेड खेलाडी आशिष फूँयालले एकल ८ अंक बनाउँदै द्वितीय स्थान हासिल गर्न सफल बने । आशिषले नगद रु. २५ हजार पुरस्कार ग्रहण गरेका छन् ।
झापाका १९९७ रेटेड पूर्व नेपाल च्याम्पियन राजन सुवेदी ७ अंक उत्कृष्ट ४९ प्रोग्रेसिभ प्वाइन्टका आधारमा तृतीय स्थान ओगटे । राजनले नगद रु. १५ हजार प्राप्त गरे ।
यता राष्ट्रिय ब्लिट्जमा ललितपुरका १९५७ रेटेड खेलाडी सुरोज महर्जनले ७.५ अंक उत्कृष्ट ४७.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय स्थान ओगट्दै नगद रु. १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
दोलखाका १६८१ रेटेड खेलाडी कविन्द्र सिवाकोटीले समान ७.५ अंक जोडेर तृतीय स्थानमा रहँदै नगद रु. ८ हजार हात पार्न सफल भए ।
राष्ट्रिय चेस प्रतियोगितामा विभिन्न जिल्लाबाट १ सय ८० जना खेलाडी सहभागी भएकामध्ये ५३ जनाले विभिन्न विधामा कुल नगद रु. ३ लाख पुरस्कार प्राप्त गरे । र्यापिड खेलमा रु. २ लाख तथा ब्लिट्जतर्फ नगद रु. १ लाख पुरस्कार प्रदान गरिएको थियो ।
शुक्रबार क्षेत्रपाटी क्लबले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यवाहक मेयर सुनिता डंगोलले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै बुद्धिचाल खेललाई माइन्ड गेम (बौद्धिक खेल)को संज्ञा दिनुका साथै काठमाडौं महानगरपालिकाले खेल प्रवर्धनमा टेवा पुर्याउने उद्घोष गरिन् ।
क्लबका अध्यक्ष गोपाल मालीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका वडा नं. १७ वडा अध्यक्ष नवीन मानन्धर, बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले शुभकामना मन्तव्य व्यक्त गरे ।
