तिलिचोमा आयोजित महिला रेस्लिङ वर्ल्ड बुक अफ रेकर्ड्समा

४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायस्ट अल्टिच्युड लेक’ तिलिचोमा भएको महिला रेस्लिङलाई वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा समावेश गरिएको फाउन्डेसनले जनाएको छ ।

वैशाख १८, २०८३

कान्तिपुर संवाददाता

Women's wrestling held in Tilicho enters World Book of Records

काठमाडौँ — नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा मनाङको तिलिचो तालमा आयोजित महिला रेस्लिङ म्याच वर्ल्ड बुक अफ रेकर्ड्समा समावेश भएको छ ।

४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायस्ट अल्टिच्युड लेक’ तिलिचोमा भएको महिला रेस्लिङलाई वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा समावेश गरिएको फाउन्डेसनले जनाएको छ ।

गत २६ नोभेम्बरमा तिलिचोमा सम्पन्न रेस्लिङमा नेपालबाट भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) सँग प्रतिस्पर्धा गरेका थिए । त्यसमा भगवती र अस्मिता विजयी भएका थिए ।

पूर्व उपसभामुख इन्दिरा राना मगरले भगवती र अस्मितालाई उक्त रेकर्ड्सको प्रमाण पत्र प्रदान गरिन् । महिला रेस्लिङ फाउन्डेसनमा भगवती अध्यक्ष र अस्मिता कोषाध्यक्षको जिम्मेवारीमा छन् ।

Women's wrestling held in Tilicho enters World Book of Records

विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्दै आएको फाउन्डेसनले यसअघि विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्ने उद्देश्यले कालापत्थर मैत्रीपूर्ण रेस्लिङ आयोजना गरेको थियो । सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५ हजार ६ सय ३३ मिटरको उचाइमा उक्त रेस्लिङ भएको थियो ।

एभरेस्ट दिवसका अवसरमा भएको मैत्रीपूर्ण रेस्लिङमा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् । त्यसमा अस्मिताले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

तिलिचोमा आयोजित रेस्लिङ वर्ल्ड बुक अफ रेकर्डसमा समावेश हुने नेपाली महिला रेस्लिङको विकाससँगै पर्यटकीय हिसाबमा मनाङको प्रचारमा उल्लेखनीय सहयोग पुग्ने अध्यक्ष खड्काले बताइन् ।

कान्तिपुर

Link copied successfully