दीपेन्द्रको शतकमा नेपालको विशाल लक्ष्य

दीपेन्द्रले ९४ बल खेली १३ चौका र १ छक्कासहित १०० रन बनाए ।

वैशाख १८, २०८३

विनोद पाण्डे

Nepal's huge target with Dipendra's century

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको शतकमा नेपालले क्रिकेट विश्वकप लिग २ मा शुक्रबार यूएईलाई २ सय ९० रनको लक्ष्य दिएको छ । दीपेन्द्रले १ सय रन बनाएपछि टस जितेपछि ब्याटिङमा आएको नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभर खेली ७ विकेट गुमाई २ सय ८९ रन बनायो । 

दीपेन्द्र एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालका दोस्रा खेलाडी हुन् । रोहित पौडेलले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाएका छन् । दीपेन्द्रले आफ्नो पहिलो शतक २०२२ को मार्चमा कीर्तिपुरमै पपुवा न्यु गिनीविरुद्ध १ सय ५ रन बनाउँदै पूरा गरेका थिए । 

यसअघिका दुई खेलमा पनि दीपेन्द्रले यूएई र ओमानविरुद्ध अर्धशतक बनाएका थिए । दीपेन्द्रले ९४ बल खेली १३ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र र गुलशन झाले छैटौं विकेटमा ७८ बलमा १ सय २ रनको साझेदारी गरे । यी दुवै इनिङ्सको अन्तिम बलमा आउट भए । 

गुलशनले ३८ बल खेली ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाए । उनी इनिङ्सको अन्तिम बलमा आउट भए । अन्तिम बलको सामना गर्न आएका सोमपाल कामीको ब्याटमा बल नलागेपछि रन लिन दौडिएका दीपेन्द्र स्ट्राइक एन्डमा रनआउट भए ।

चार वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका ३६ वर्षे विनोद भण्डारीले ५६ रन बनाएका थिए । नेपालबाट सबैभन्दा बढि उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका विनोदले ७९ बल खेली ७ चौका प्रहार गरे ।

नेपालले ओमानसँग १ सय २ रनले पराजित अघिल्लो खेल खेलेको टोलीबाट चार खेलाडी परिवर्तन गर्दै विनोदसहित अर्जुन कुमाललाई अवसर दिएको थियो । विनोद र अर्जुनलाई नेपाली टोलीमा स्थापित रहे पनि एकरुपको प्रदर्शन गर्न नसकेका आसिफ र कुशल भुर्तेलको स्थानमा ल्याइएको थियो । 

एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका अर्जुन २२ बल खेली २ चौका प्रहार गर्दै ११ रनमा आउट भए । अर्जुनलाई आउट गरेका अजय कुमारले अर्को ओभरमा भीम सार्कीलाई शून्यमा आउट गरेपछि नेपाल दबाबमा परेको थियो । 

कप्तान रोहित पौडेलले ३९ रन बनाए । उनले ४८ बल खेली ३ चौका प्रहार गरे । आरिफ शेख ११ रनमा आउट भए । यूएईका जुनैद सिद्दीकी र अजयले २–२ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully