वुमन्स च्यालेन्ज ट्रफीमा नेपाल उपविजेता

नेपालले रुवान्डामा भइरहेको प्रतियोगितामा शुक्रबार अन्तिम दिनको खेलमा इटालीलाई ८ विकेटले हरायो ।

वैशाख १८, २०८३

कान्तिपुर संवाददाता

Nepal runner-up in Women's Challenge Trophy

काठमाडौँ — नेपाल पहिलो संस्करणको आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा उपविजेता बनेको छ । नेपालले रुवान्डामा भइरहेको प्रतियोगितामा शुक्रबार अन्तिम दिनको खेलमा इटालीलाई ८ विकेटले हरायो ।

डबल राउन्ड रोबिनका आधारमा भएको ५ राष्ट्र सहभागी प्रतियोगितामा अमेरिका ८ खेलमा १३ अंक जोड्दै यसअघि नै विजेता बनिसकेको थियो । अमेरिका र आयोजक रुवान्डाबीच शुक्रबारको खेल वर्षाका कारण रद्द हुन पुग्यो । नेपाल १० र रुवान्डा ९ अंकसाथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । इटाली ६ अंकसहित चौथो र भानुआटु २ अंकसहित पुछारमा रहे ।

नेपाल र इटालीबीच किगालीस्थित गहन्गा क्रिकेट रंगशाला ओभल ‘बी’मा भएको खेल पनि वर्षाले प्रभावित रह्यो । ७–७ ओभरमात्र सम्भव बन्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको इटालीले ६ विकेट गुमाई ३६ रनमात्र बनायो । प्लेयर अफ द म्याच मनीषा उपाध्यायले ३ विकेट लिइन् । उनले २ ओभरमा १० रन खर्चेकी थिइन् । कविता कुँवर र पूजा महतोले १–१ विकेट लिए । इटालीबाट कप्तान इमिलिया बार्टरामले १४ बलमा २ चौकासहित १४ रन बनाइन् ।

नेपालले ३.३ ओभरमै ४० रन बनाएर खेल आफ्नो पक्षमा पार्‍यो । ओपनर सम्झना खड्का ६ बलमा ९ र रुबि पोदार २ बलमा ४ रनमा अविजित रहे । पूजाले ६ बलमा ३ चौकासहित १३ र कप्तान इन्दु बर्माले ७ बलमा ९ रन बनाए । इटालीकी इमा मुरले एक विकेट लिइन् ।

नेपाललाई अमेरिकाले दुवै पटक हराएको थियो । नेपालले इटाली र रुवान्डासँग २–२ खेलमै जित पायो भने भानुआटुसँग १ मा जित र अर्कोमा पराजय सामना गर्‍यो ।

कान्तिपुर

Link copied successfully