तीन दिनसम्म चल्ने प्रतियोगितामा कैलाली र कञ्चनपुरका दुवै विधातर्फ ८० टिमको सहभागीता रहेको छ ।
कञ्चनपुर — महेन्द्रनगरमा ‘बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ । पश्चिम पार्टी मिडियाको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।
पुरुष डबल्स प्रतियोगिता अन्तरगत ‘बि’ लेबल र भेट्रान खुल्ला गरी दुई विधामा भइरहेको हो । प्रतियोगिताको उद्घाटन जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले उद्घाटन गरे । तीन दिनसम्म चल्ने प्रतियोगितामा कैलाली र कञ्चनपुरका दुवै विधातर्फ ८० टिमको सहभागीता रहेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षणका रुपमा चिनिने बाह्रसिंगाको प्रचारप्रसारका लागि प्रतियोगिताको नाम पनि त्यही राखिएको हो । ‘बि’ लेभलतर्फ प्रथम हुनेलाई ४४ हजार ४४४, दोस्रो हुनेलाई २२ हजार २२२ र तेस्रो हुनेलाई ११ हजार १११ पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी भेट्रान खुल्लातर्फ प्रथम हुनेलाई १५ हजार ५५५, दोस्रो हुनेलाई ७ हजार ५५५ र तेस्रो हुनेलाई ५ हजार ५५५ पुरस्कार प्रदान गरिनेछ ।
