पेनाल्टी निर्णय नदिँदा आर्टेटाको गुनासो

दुवै टिमको एउटा साझा विशेषता के हो भने उनीहरूले अहिलेसम्म युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेका छैनन् ।

वैशाख १८, २०८३

एएफपी

Arteta complains about not giving penalty decisions

म्याड्रिड — आर्सनल प्रशिक्षक मिखेल आर्टेटालाई एट्लेटिको म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा बुधबार आफ्नो पक्षमा पेनाल्टीको निर्णय नदिँदा ठूलै गुनासो रहेको छ ।

एट्लेटिकोको घरमा भएको खेल १–१ को बराबरीमा टुंगिएको थियो । यो नतिजाले धेरै हदसम्म फाइनल प्रवेशका लागि आर्सनल बलियो प्रत्याशी रहनेछ, किनभने अर्को साता हुने दोस्रो लेगको खेल उसकै घर इमिरेट्समा हुनेछ ।

पहिलो लेगको अन्त्यतिर खेल बराबरी रहेको स्थितिमा आर्सनलका इबेरेची इजीमाथि एट्लेटिकोको बक्समा फाउल भएको थियो, घरेलु डिफेन्डर डाभिड हान्कोले उनलाई ढालेका थिए । डच रेफ्री डानी माकिलीले सुरुमा पेनाल्टीको निर्णय दिए, तर पछि ‘भार’ रिभ्युको मदतमा त्यसलाई फेरे । यो निर्णय मेट्रोपोलिटानो स्टेडियमको टिम र समर्थकलाई ठूलो राहत रह्यो, तर आर्सनलका लागि भने आक्रोश ।

पछि मिडियासँगको कुराकानीमा आर्टेटाले भने, ‘जसरी पेनाल्टी निर्णय फेरियो, मैले बुझ्न सकेको छैन, यसमा मलाई आपत्ति छ । यति धेरै माथिल्लो स्तरको खेलमा एउटा निर्णयले पूरा प्रतिस्पर्धालाई फरक पारेको छ । यस्तो कुनै पनि हालतमा हुनुहुन्न । खेलमा अग्रता भने पहिलो हाफमा आर्सनलले नै लिएको थियो, जतिबेला भिक्टोर ग्योकेरेसलाई हान्कोले नै फाउल गरे र त्यसमै प्राप्त पेनाल्टीमा तिनै ग्योकेरेसले गोल गरे ।

एट्लेटिको दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो, त्यो पनि पेनाल्टीमै । बेन ह्वाइटले बल ह्यान्ड गरेपछि प्राप्त अवसरमा जुलियन अल्भारेजले गोल गरेका थिए । आफूविरुद्धको त्यो ह्यान्डबलको निर्णय भने आर्टेटालाई स्वीकार्य थियो, किनभने अघिल्लो दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको खेलमा बायर्न म्युनिकविरुद्ध यस्तै परिस्थितिमा पेनाल्टी दिइएको थियो, तर उनी इजीमाथि भएको फाउलमा दिइएको निर्णय उल्टाएकोमा सहमत छैनन् ।

आर्टेटाले थपे, ‘यसमा हाम्रो आपत्ति जहिल्यै रहनेछ । पछिल्लो ९ महिना हामीले यहाँसम्मको यात्राका लागि कति धेरै दुःख गरेका छौं । यदि हामीले पेनाल्टी पाएको भए र गोल भएको भए, पूरा खेलको स्थिति बेग्लै हुने थियो । मेरो फेरि भनाइ हो, यस्तो हुनुहुन्न । कुनै पनि स्थितिमा यस्तो हुनुहुन्न ।’ रेफ्रीको निर्णय फेरिनु भने एट्लेटिकोका लागि राहतको अवसर रह्यो । प्रशिक्षक डिएगो सिमोनी यसमा सबै ठीक देख्छन् ।

उनी सुरुमा के मान्छन् भने ग्योकेरेसविरुद्धको फाउलमा दिइएको पेनाल्टी निर्णय नै ठीक थिएन । उनी भन्छन्, ‘जुन पहिलो पेनाल्टीको निर्णय छ, त्यसमा मेरो धारणा के छ भने विपक्षी खेलाडीले आफू मैदानमा ढल्न खोजे । त्यो पनि सेमिफाइनल जस्तो ठूलो अवसरमा । पेनाल्टी निर्णयका लागि पेनाल्टीकै अवसर बन्नुपर्छ । भारको माध्यमबाट जुन निर्णय भएको छ, त्यो ठीक छ । त्यसका लागि धन्यवाद दिनुपर्छ ।’

अर्को लेगको खेल मंगलबार लन्डनमा हुनेछ । यसमा दुवै टिम निर्णायक खेलका लागि उत्रन्छन् । दुवै टिमको एउटा साझा विशेषता के हो भने उनीहरूले अहिलेसम्म युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेका छैनन् । त्यसैले जुन टिम फाइनलमा पुग्नेछ, त्यसको एकमात्र उद्देश्य उपाधि जित्नु नै हुनेछ । सिमोनी भन्छन्, ‘हाम्रो लागि ठुलो चुनौती छ, अब हामी लन्डनमा आर्सनलको घरमा खेल्दै छौं । हामीले आत्मविश्वाससहित सक्दो राम्रो खेल्नेछौं ।’

एएफपी

Link copied successfully