शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै विभागीय टिम एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
नवलपुर — सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वी नवलपरासीको मध्यबिन्दुमा जारी राइनो संरक्षण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै विभागीय टिम एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा चित्लाङ क्लबका तर्फबाट जर्सी नम्बर ४० का स्लोमन किङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एपीएफका जर्सी नम्बर २५ का एन्जल श्रेष्ठले बराबरी गोल फर्काएपछि पहिलो हाफ १- १ गोलमा सीमित भयो ।
दोस्रो हाफ गोलरहित भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफले ३-२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको आयोजक संस्थाका अध्यक्ष दोमन भण्डारीले बताए । आजको खेलमा एपीएफका एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
शनिबार आयोजक राइनो क्लब र एबीएफसी क्लब कोलकाता, भारतबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
