युरोपेली च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निकाल्यो ५–४ को जित।
पेरिस — सनसनीपूर्ण, आक्रामक अनि रोमाञ्चक । जतिबेला विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडीले भरिएको दुई टिमले मन खुलेर खेल्छन्, फुटबल वास्तवमै उत्कृष्ट हुन्छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मंगलबार बायर्न म्युनिखलाई ५–४ ले हरायो । यो खेल साँच्चै त्यस्तै रह्यो । त्यसैले अब भन्न सुरु भएको छ, यो सम्भवतः च्याम्पियन्स लिग फुटबलको इतिहासमै एउटा उत्कृष्ट खेलका रूपमा धेरै पछिसम्म सम्झिने छ ।
गत वर्ष बालोन डे’अर जितेका पीएसजीका ओसमन डेम्बेलले खेलपछि भने, ‘जतिबेला दुई टिमले आक्रमण गर्न डराउँदैन खेल यस्तै हुन्छ । यो खेल कम्तीको थिएन, यो त च्याम्पियन्स लिगको सेमिफाइनल थियो । हामी सबैलाई थाहा छ, बायर्न कति राम्रो टिम हो अनि हामी पनि कहाँ कम्तीका थियौं र ?’ जर्मन च्याम्पियनका लागि पहिलो हाफमा ह्यारी केन र माइकल ओलिसले गोल गरेका थिए ।
पीएसजीबाट भने ख्विचा क्वारत्सेखेलिया र जाओ नेभेसले गोल गरे । जतिबेला डेम्बेलेले पनि गरे, पहिलो हाफको समाप्तिमा पीएसजी ३–२ ले अगाडि रह्यो । त्यसपछि क्वारत्सेखेलिया र डेम्बेलेले पनि १–१ गोल गरे । लागिरहेको थियो, घरेलु टिम दुई लेगको खेलमा मजबुत भएको छ । तर होइन, बायर्न यत्तिकैमा रोकिएन र टोलीका लागि डायोट उपमेकानो र लुइस डियाजले एक–एक गोल फर्काए । खेल भयो, ९ गोलको ‘थ्रिलर’ ।
पीएसजीका प्रशिक्षक लुइस एनरिकेले भने, ‘म त असाध्यै थाकेको छु, तर मैले खेलाडीले जस्तो धेरै किलोमिटर दौडिनुपरेको थिएन, यो खेलमा वास्तवमै सबथोक थियो । मलाई लाग्छ, यो खेलमा जितका लागि हामी नै हकदार थियौं । सायद हामीले बराबरी खेल्दा यस्तै हकदार हुन्थ्यौ, त्यतिमात्र होइन, हामी हारेको भए पनि त्यो ठीक नतिजा नै हुने थियो ।’ फ्रान्सेली खेल दैनिकले बुधबारको अंकको पहिलो पृष्ठमा यो खेललाई मुख्य समाचार बनाएको छ । यसको शीर्षक छ, ‘टोटल फुटबल’ । यसको संकेत थियो, सत्तरीको दशकमा डच महान् खेलाडी योहान क्राएफले खेल्ने शैलीको फुटबल । यस्तै खेलका लागि एनरिके मात्र होइन, बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनीलाई उत्तिकै श्रेय जान्छ । सायद केही हदसम्म बायर्नको रक्षापंक्ति कमजोर रह्यो ।
तर कोम्पनीले आफ्नो टिमको आक्रमणलाई रोक्न खोजेनन् । कोम्पनीले यो रणनीति नबुनेको भए सायद खेल पीएसजीको पक्षमा ५–२ ले टुंगिने थियो । तर बायर्नको पुनरागमनले अब अर्को बुधबार हुने दोस्रो लेगको खेल असाध्यै सनसनीपूर्ण, आक्रामक र रोमाञ्चक हुने विशवस गर्न सकिन्छ । रमाइलो तथ्य के छ भने बायर्नले एउटै खेलमा ५ गोल खाएको पनि सन् २०२३ को डिसेम्बरयता पहिलो पटक हो ।
अझ च्याम्पियन्स लिगमा सन् १९९५ यता पहिलो पटक ५ गोल खाएको छ । त्यति बेला बायर्नलाई आयाक्सले ५ गोल गरेको थियो । ‘टचलाइन’ प्रतिबन्धका कारण कोम्पनी बायर्नको बक्समा थिएनन्, उनी दर्शकदीर्घातिर थिए । त्यहींबाट उनले खेल हेरे । खेलजीवनमा उनी डिफेन्डर थिए, उनी उच्चकोटीका रक्षात्मक खेलाडी हुन् । तर यही स्वभावका खेलाडी प्रशिक्षक हुँदा भने उनको टिमले अत्यधिक आक्रामक रणनीति तय गरेको छ । बर्नलीका पनि पूर्वप्रशिक्षक रहेका कोम्पनीले पछि भने, ‘फुटबल केही हदसम्म धर्म जस्तै हो, मानिसले त्यसरी नै विश्वास गर्न सक्छ, जसरी उनलाई विश्वास गर्ने इच्छा हुन्छ, कुनै पनि एक रणनीति फुटबलमा अर्को रणनीतिभन्दा राम्रो हुन्छ भन्ने हुन्न । इंग्ल्यान्डमा दोस्रो डिभिजनको फुटबलमा छँदा मैले धेरै लामो लामो पासले खेलेको छु । खासमा त्यस्ता दुई टिम भिड्का थिए, जसको फुटबल दर्शन एउटै रह्यो ।’
जतिबेला अर्को साता दोस्रो लेग हुनेछ, दुवै टिमले आक्रामक रणनीति छाड्ने छैनन् । भलै, त्यही खेलले फाइनल पुग्ने टिमको निर्णय गर्नेछ । अनि एनरिके के मान्छन् भने पीएसजीले त्यस खेलमा थप तीन गोल गर्न सक्यो भने मात्र फाइनल यात्रा निश्चित हुनेछ । यही खेलमा संलग्न दुई खेलाडीमध्ये एकले यो वर्षको बालोन डे’अर उपाधि पनि जित्न सक्नेछ ।
त्यसमा एक हुन्, क्वारत्सेखेलिया । उनी यस सिजनको च्याम्पियन्स लिगमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । अर्का बायर्नका केन हुन् । उनी आफैं उत्कृष्ट लयमा छन् । त्यो पनि ३३ वर्षको उमेरमा । अनि ओलिस, डेम्बेले र डिजायर डोले अबको विश्वकपमा फ्रान्सका लागि खेल्नेछन् । त्यसैले यो फ्रान्सका प्रतिद्वन्द्वीका लागि चेतावनी पनि हुनेछ । अहिलेको खेलले गत सिजन इन्टर मिलानले बार्सिलोनालाई सेमिफाइनलमा हराएको अवसर सम्झाएको छ ।
त्यसमा इन्टर समग्रमा ७–६ ले विजयी भएको थियो । च्याम्पियन्स लिगको आधुनिक इतिहासमा एउटै ‘टाइ’ मा यति धेरै गोल निस्केको यो पहिलो पटक हो । यति धेरै गोल सम्भव भएको अहिले नै हो, सन् २०२० मा बायर्नले बार्सिलोनालाई ८–२ ले हराएको लिग चरणको एउटा खेललाई बिर्सने हो भने । घरबाहिरको गोलले बढी महत्त्व नपाउने नियम बनेपछि अहिले त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।
अहिले समय फेरिएको छ । नत्र दुई दशक अगाडिसम्म युरोपेली फुटबलमा त्यस्ता दुई प्रशिक्षक हाबी थिए, जसको रणनीति प्रायः सुरक्षात्मक हुन्थ्यो । ती थिए, जोसे मोउरिन्हो र राफेल बेनिटेज । सन् २००५–०६ को सिजन च्याम्पियन्स लिगकै दुवै सेमिफाइनल गरेर ४ खेलमा २ गोलमात्र भएको थियो । त्यसको एक वर्षअगाडिको सेमिफाइनलमा बेनिटेजको लिभरपुलले मोउरिन्होको चेल्सीलाई सेमिफाइनलमा समग्रमा १–० ले हराएको थियो ।
अहिले फुटबलले आफ्नो स्वरूप फेरेको छ । पीएसजी त झन डिफेन्डिङ च्याम्पियन हो । पीएसजीसँगै बायर्न अहिले विश्व फुटबलकै सबैभन्दा राम्रा दुई क्लब हुन् । त्यति मात्र होइन, विश्वकै सर्वाधिक धनी क्लबको सूचीमा पीएसजी तेस्रो र बायर्न चौथो स्थानमा छ । यस्तोमा यी दुई टिममध्ये जुन फाइनल पुग्नेछ, उपाधि जित्ने सम्भावना उसकै बढी रहनेछ । सेमिफाइनल पुगेका अन्य दुई टिम आर्सनल र एट्लेटिको म्याड्रिडले कडा परिश्रम नै गर्नुपर्नेछ ।
