नेपाल उपविजेता बन्नेक्रममा, कविताको ह्याट्रिक विकेट

अमेरिका बिहीबारै भएको खेलमा इटालीलाई पराजित गरी एक खेलअगावै आईसीसी वुमन्स च्यालेन्ज ट्रफीको उपाधि जित्न सफल

वैशाख १७, २०८३

विनोद पाण्डे

Nepal on the way to becoming the runner-up, Kavita takes a hat-trick of wickets

What you should know

काठमाडौं — कविता कुँवरले ह्याट्रिकसहित ६ विकेट लिएपछि पहिलो संस्करणको आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा नेपाली टोली उपविजेता बन्ने सम्भावना बलियो भएको छ ।

नेपालले रुवान्डामा भइरहेको प्रतियोगितामा बिहीबार भानुआटुलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरेपछि अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

डबल राउन्ड रोबिनका आधारमा भइरहेको ५ राष्ट्र सहभागी प्रतियोगितामा अमेरिका ७ खेलमा १२ अंक जोडेर यसअघि नै विजेता बनिसकेको छ । अमेरिकाले बिहीबारै पहिलो खेलमा इटालीलाई ९ विकेटले पराजित गरेपछि विजेता बन्ने निश्चित गरेको थियो । अमेरिकाले विजेता बन्नेक्रममा दुवै खेलमा नेपाललाई हराएको थियो ।

नेपाल र आयोजक रुवान्डाको ७ खेलमा समान ८ अंक छ । १ खेल खेल्न बाँकी रहेको अवस्थामा रुवान्डाभन्दा नेपाल धेरै अगाडि छ । इटालीको ७ खेलमा ६ अंक र सबै ८ खेल खेलिसकेको भानुआटुको २ अंक छ । भानुआटुले पहिलो चरणमा नेपालमाथि २२ रनको सनसनीपूर्ण विजय हात पार्दै यो २ अंक जोडेको थियो ।

तर किगालीस्थित गहन्गा क्रिकेट रंगशाला ओभलमा यसपालि भानुआटुलाई कुनै मौका दिएन । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ३२ रन बनायो । जबाफमा भानुआटुलाई १६.४ ओभरमा ४९ रनमा अलआउट गर्दै नेपालले शक्तिशाली विजय हात पारेको हो ।

नेपालले ब्याटिङक्रम परिवर्तन गर्दै विन्दु रावलको स्थानमा पूजा महतोलाई सम्झना खड्कासँगै ओपनिङ ब्याटिङमा पठाएको थियो । पूजा र सम्झनाले आक्रामक ब्याटिङ गर्दै नेपाललाई पहिलो ६ ओभरको पावर प्लेमा विनाक्षति ४० रनमा पुर्‍याए । पूजा २० बल खेल्दै १ छक्का प्रहार गर्दै १९ रनमा आउट भइन् ।

तेस्रो नम्बरमा आएकी विन्दु २४ बल खेल्दै ७ रनमा ‘रिटायर्ड हर्ट’ भइन् । अघिल्लो खेलमा अर्धशतक बनाएकी रुबि पोदार १ रनमा आउट भइन् । ओपनर सम्झनाले ५२ रन बनाइन् । उनले ५१ बल खेल्दै ९ चौका प्रहार गरिन् । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको दोस्रो अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा महिला एसिया कपमा यूएईविरुद्ध श्रीलंकाको दाम्बुलामा अविजित ७२ रन बनाएकी थिइन् ।Nepal on the way to becoming the runner-up, Kavita takes a hat-trick of wickets

कप्तान इन्दु बर्मा ४३ र कविता कुँवर ६ रनमा अविजित रहे । इन्दुले १८ बलमा ७ चौका प्रहार गरिन् । उनले इनिङ्सको अन्तिम ३ बलमा रचेल एन्ड्रयुलाई लगातार तीन चौका प्रहार गरिन् । भानुआटुबाट रचेल, नतालिया काकोर र नासिमाना नाभाइकाले १–१ विकेट लिए ।

जबाफमा आएको भानुआटु कविताको बलिङमा तहसनहस भयो । उनले सबै ६ विकेट बोल्ड गरेर लिएकी हुन् । उनले १६ औं ओभरमा लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक विकेट लिएकी थिइन् । नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी कविताले ३.४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिन् ।

महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको यो दोस्रो उत्कृष्ट बलिङ हो । यसअघि अञ्जली चन्दले सन् २०१९ पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नखर्ची ६ विकेट लिएर तत्कालीन समयमा विश्व कीर्तिमानी बलिङ गरेकी थिइन् ।

कविताबाहेक नेपालबाट पूजा र रचना चौधरीले २–२ विकेट लिए । पूजाले ४ ओभरमा १० र रचनाले ३ ओभरमा १२ रन खर्चेका थिए । भानुआटुबाट ओपनर भालेन्टा लान्गिएटुले १४ र नाभाइकाले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully