क्रिकेट विश्वकप लिग २ को अंकतालिकामा पुछारमा रहेका नेपाल र यूएई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार आमनेसामने हुँदै
काठमाडौँ — क्रिकेट विश्वकप लिग २ को अंकतालिकामा पुछारमा भए पनि नेपाल र यूएईबीचको खेलले जहिल्यै ठूलो महत्त्व राख्छ । त्यसै पनि यी दुई टोली आमनेसामने हुँदा ‘एल क्लासिको’ उपनामले भिड्ने गर्छन् ।
नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा शुक्रबार यूएईको सामना गर्दा महत्त्व उस्तै हुनेछ । लिग २ को शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान छ । दुवै टोली यो सम्भावना टाढा छ, तर आशा मरिसकेको छैन, त्यसैले यो खेलले जीवन्तता पाएको छ ।
आठ राष्ट्र सहभागी लिग २ मा नेपाल २२ खेलमा १४ अंकसहित सातौं स्थानमा छ । यूएईको २२ खेलबाट १२ अंकमात्र छ । अमेरिका २४ खेलमा ३६, स्कटल्यान्ड २८ खेलमा ३४, ओमान २५ खेलमा २९, नेदरल्यान्ड्स २४ खेलमा २८, नामिबिया २८ खेलमा २२ र क्यानडा २४ खेलमा २१ अंक जोड्दै शीर्ष ६ स्थानमा छन् ।
नेपालले शनिबार यूएईलाई ३७ रनले हराएको थियो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याउनेक्रममा यूएई ४८.२ ओभरमा १ सय ६३ रनमै अलआउट भयो । त्यही यूएईले दोस्रो खेलमा सोमबार ओमानलाई २५ रनले हरायो । ओमानले बुधबार नेपाललाई डकवर्थ लुइस पद्धतिका आधारमा १ सय २ रनले पराजित गरेको थियो । अर्थात तीनै टोलीले २ खेलमा १ मा विजय र अर्कोमा पराजय भोगेका छन् ।
पहिलो दुवै खेलमा नेपालको ब्याटिङ सन्तोषजनक हुन सकेको छैन । उपकप्तान दीपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध ७५ र ओमानविरुद्ध ६० रन बनाएका थिए । अन्य नेपाली ब्याटरको प्रदर्शन बिर्सनलायक छ । ओपनिङ ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेल ठूलो स्कोर बनाउन नसकिरहेको अवस्थामा अर्जुन कुमाल र विनोद भण्डारी तयार हुँदा प्रशिक्षक स्टुवार्ट लले प्लेयिङ ११ लाई लिएर जोखिम निर्णय लिन सक्नेछन् । अर्जुन र विनोदले घरेलु क्रिकेटमा ठूलो प्रभाव जनाउँदै आएका छन् ।
ओमानसँग देव्रेहाते स्पिनर ललित राजवंशीलाई नखेलाउने निर्णय पनि नेपालको फलदायी हुन सकेको थिएन । ललितले यूएईसँगको खेलमा देव्रेहाते ब्याटर हरप्रित सिंहको विकेट लिएका थिए । त्यसक्रममा उनले ६ ओभरमा २२ रनमात्र खर्चेका थिए । उनी प्लेयिङमा फर्किएमा सम्भवतः बसिर अहमदले स्थान गुमाउने छन् । अलराउन्डर बसिरले दुवै खेलमा बल र ब्याटबाट खासै प्रभाव जमाउन सकेका छैनन् ।
