चाँगुनारायण ट्रेल रन हुने

खुला ३६ किलोमिटर महिला तथा पुरुष दौडतर्फ विजेता १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौँले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

Changunarayan Trail Run to be held

काठमाडौँ — नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा भक्तपुरको चाँगुनारायण क्षेत्रमा चाँगुनारायण राष्ट्रिय ट्रेल रन–२०२६ हुने भएको छ ।

महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी वैशाख १९ गते चाँगुनारायण राष्ट्रिय ट्रेल रन–२०२६ गर्ने जानकारी दिएको हो । एडभेन्चर रनिङको विकासका साथै साहसिक तथा पर्यटकीय खेललाई प्रवर्धन गर्न चाँगुनारायण ट्रेल रन आयोजना हुन लागेको महासंघले उल्लेख गरेको छ । ट्रेल रनमा खुला महिला तथा पुरुषतर्फ ३६ किलोमिटर प्रतिस्पर्धा हुनेछ ।

साथै २० वर्षमुनिका युवालाई पनि लक्षित गरेर विधा समावेश गरिएको छ । यो उमेरसमूहका लागि महिला तथा पुरुषतर्फ ७ किलोमिटर दौड समावेश गरिएको छ । दुवै विधामा २५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

खुला ३६ किलोमिटर महिला तथा पुरुष दौडतर्फ विजेता १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौँले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully