प्लेयर अफ द म्याच मनिषा उपाध्यायले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।
काठमाडौँ — नेपालले आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा मंगलबार घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ । नेपालले रुवान्डामा भइरहेको प्रतियोगितामा ६ खेलमा तेस्रो विजय निकालेको हो । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।नेपाल प्रतियोगिताको पहिलो दिनको खेलमा पनि अमेरिकासँग ४४ रनले पराजित भएको थियो । त्यसपछि नेपालले इटालीलाई ५० रनले र आयोजक रुवान्डालाई २ विकेटले पराजित गरेको थियो । नेपाल शुक्रबार भानुआटुसँग २२ रन र आइतबार अमेरिकासँग ७ विकेटले पराजित भएको थियो ।
मे १ सम्म हुने ५ राष्ट्र सहभागि प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा भइरहेको छ । नेपालले अव बिहीबार भानुआटु र शुक्रबार इटालीसँग खेल्ने छ । अमेरिका ६ खेलमा १० र रुवान्डा ७ खेलमा ८ अंक बोकी पहिलो दुई स्थानमा छन् ।
कप्तान इन्दु बर्माले अविजित ३३ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको नेपालले किगाली स्थित गहन्गा क्रिकेट रंगशाला ओभल बी मा ७ विकेट गुमाई १ सय ३ रन बनायो । कप्तानी इनिङ्स खेल्नेक्रममा इन्दुले ४५ बल खेली ४ चौका प्रहार गरिन् । सम्झना खड्का ६, विन्दु रावल २, पुजा महतो ५ र रुबि पोदार ६ रनमा आउट भएपछि नेपाल ५.१ ओभरमा २३–४ को अवस्थामा पुगेको थियो ।
त्यसपछि इन्दु र कविता कुँवरले पाँचौं विकेटमा ४६ रनको साझेदारी गरे । कविताले २६ बल खेली ४ चौका प्रहार गर्दै २४ रन बनाइन् । कविता र रोमा थापा (०) लगातार बलमा आउट भए । पूर्व कप्तान रुविना क्षेत्रीले १२ बल खेली २ चौका प्रहार गर्दै ११ रन बनाइन् । रचना चौधरी १ रनमा अविजित रहिन् । रुवान्डाकी हेनरीलिटे इसिमवेले विकेट लिइन् । उनले ४ ओभरमा २० रन खर्चिन । कप्तान मारी बिमेनयिमानाले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् ।
मनिषा उपाध्यायले ३ विकेट लिएपछि जवाफमा आएको रुवान्डा १७.४ ओभरमा ६५ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच मनिषाले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर उत्कृष्ट बलिङ गरिन् । कविताले ४ ओभरमा १७, रचनाले २.४ ओभरमा ११ र रिया शर्माले ३ ओभरमा १३ रन खर्चेर २–२ विकेट लिए ।
रुवान्डाबाट बिमेनयिमानाले १९ र जिओभानीस उबासेले १२ रन बनाइन् । रुवान्डाको इनिङ्समा केवल ४ चौका र १ छक्का समावेश थियो । बिमेनयिमानाले ३ चौका र उबासेले समान १ चौका र छक्का प्रहार गरेकी थिइन् ।
