राजनीतिक भागबण्डा र दलगत स्वार्थका कारण खेलकुद विकास बोर्डमा सदस्य सचिव नियुक्त नहुँदा नियमित कामदेखि जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता अन्योलमा परेका छन् ।
What you should know
सुनसरी — कोशी प्रदेश खेलकुद विकास बोर्डमा पछिल्लो ७ महिनादेखि सदस्य सचिव नियुक्त हुन नसक्दा प्रदेशभरिका खेलकुद गतिविधि प्रभावित बनेका छन् ।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको कार्यकाल गत भदौ २५ मा सकिएको थियो । त्यसयता सदस्य सचिव नियुक्त हुन सकेको छैन । राजनीतिक भागबण्डा र दलगत स्वार्थका कारण बोर्ड नेतृत्वविहीन हुँदा नियमित कामदेखि जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता अन्योलमा परेका छन् ।
प्रदेशका विभिन्न स्थानीय तहले विद्यालयस्तरबाटै ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताका लागि खेलाडी छनोट गरिसकेका छन् । तर, बोर्ड नेतृत्वविहीन हुँदा जिल्लाको छनोट प्रक्रिया अघि बढ्न सकेको छैन ।
बोर्डले जिल्ला छनोटका लागि छुट्याइएको बजेट नै निकासा गर्न नसक्दा छनोट प्रक्रिया अलपत्र परेको हो । यसले हजारौं खेलाडीको अवसर नै रोकिएको सुनसरी जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष अनुरोध थापाले बताए । थापा भन्छन्, ‘बोर्डमार्फत प्रदेशका १४ वटै जिल्लामा नियुक्त हुनुपर्ने जिल्ला खेलकुद विकास समिति अध्यक्षसमेत नियुक्त नहुँदा जिल्ला तहमा हुनुपर्ने खेलकुद गतिबिधि ठप्प छन् । यसको मार खेलाडीले भोग्नुपरेको छ ।’
चालु आर्थिक वर्ष सकिन साढे २ महिनामात्र बाँकी रहँदा बिभिन्न खेलकुदका लागि छुट्याइएको बजेटसमेत फ्रिज हुने जोखिम बढेको छ । बिगतमा आर्थिक वर्षको अन्त्यतिर बर्खे झरीमा प्रतियोगिता आयोजना गरेर बजेट सक्ने र प्रतियोगिता औपचारिकतामै सीमित गर्ने परिपाटी यसवर्ष पनि दोहोरिने जोखिम बढेको छ ।
बोर्ड नेतृत्वविहीन हुँदा आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसमेत प्रभावित बनेको छ । सामान्यतया राष्ट्रिय प्रतियोगिताअघि प्रदेशस्तरमा प्रशिक्षण, छनोट र तयारी तीव्र बनाइन्छ । तर, कोशी प्रदेशमा नेतृत्व अभावकै कारण ती सबै प्रक्रिया ठप्पजस्तै छन् । समयमै तयारी हुन नसक्दा प्रदेशको समग्र प्रदर्शन बिगतकै जस्तो कमजोर हुने चिन्ता खेलकर्मीले गरेका छन् ।
प्रदेशका विभिन्न सहरमा आयोजना हुने गोल्डकप तथा अन्य प्रतियोगिता पनि बजेट अभावका कारण प्रभावित भएका छन् । बोर्डमार्फत वितरण गरिने अनुदान नपाउँदा आयोजकहरू आर्थिक संकटमा परेका छन् । गत माघमै सम्पन्न बुढासुब्बा गोल्डकप र झापा गोल्डकपले बोर्डबाट पाउनुपर्ने सहयोग रकम अझै पाउन सकेका छैनन् । केही प्रतियोगिता स्थगित हुने अवस्थामा पुगेका छन् भने केही आयोजकले निजी स्रोतबाटै कार्यक्रम धान्नुपर्ने बाध्यता आएका गुनासो गरेका छन् ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार बुढासुब्बा गोल्डकप माघ अन्तिम साता सकिएर सबै कागजात बुझाइसकिए पनि बोर्डबाट निकासा हुनुपर्ने १० लाख रुपैयाँ सदस्य सचिव नियुक्त हुन नसक्दा अझै निकासा हुन सकेको छैन । बोर्डले बुढासुब्बासहित विराट गोल्डकप, झापा गोल्डकप र इटहरी गोल्डकपलाई १०–१० लाख रुपैयाँ अनुदान उपलब्ध गराउन बजेट बिनियोजन गरेको थियो । चारवटै प्रतियोगिता सकिए पनि सहयोग रकम सम्बन्धित क्लबले पाउन सकेका छैनन् ।
सदस्य सचिव नियुक्तिमा ढिलाइ हुनुको मुख्य कारण राजनीतिक खिचातानी देखिएको छ । सत्तारुढ दलहरूबीच भागबण्डामा सहमति नजुट्दा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएको एमालेभित्रकै गुटगत स्वार्थले निर्णय प्रक्रियामा ढिलाइ भइरहेको सरोकारवालाको आरोप छ ।
सरकारले तत्काल सदस्य सचिव नियुक्त गरी बोर्डलाई पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने नेपाल खेलकुद महासंघका सचिव विप्लव घोषले बताए । उनका अनुसार लामो समय सदस्य सचिव नियुक्त नहुँदा कोशी प्रदेशको खेलकुद विकासको गति अझै सुस्त हुने र यसको असर समग्र खेलकुदमा पर्ने भन्दै खेलाडी तथा प्रशिक्षकहरु चिन्तित छन् । कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले बिभिन्न कारणले सदस्य सचिव नियुक्तिमा ढिलाइ भएको बताउँदै यही महिनाभित्र बोर्डले पूर्णता पाउने जानकारी दिए ।
