आर्सनलले न्युकासल युनाइटेडलाई १–० ले हराएर शीर्षस्थानमा सिटीमाथि ३ अंकको अग्रता लिएको हो ।
लन्डन — म्यानचेस्टर सिटी एफए कप फुटबलमा व्यस्त हुनुको एउटा फाइदा आर्सनललाई रह्यो । सिटीलाई उछिनेर आर्सनल फेरि इंग्लिस प्रिमियर लिगको शीर्षमा उक्लेको छ । टोटनहममाथि भने अझै रेलिगेसनको चर्को दबाब छ । टोलीले यसबीच यो वर्ष पहिलो जितको स्वाद चाखेको छ । आर्सनलले न्युकासल युनाइटेडलाई १–० ले हराएर शीर्षस्थानमा सिटीमाथि ३ अंकको अग्रता लिएको हो ।
सिटीको तुलनामा आर्सनलले एक खेल भने बढी खेलेको छ । पेप ग्वार्डिओलाको सिटीले भने साउथह्याम्पटनलाई पराजित गर्दै एफए कपको फाइनल पुगेको छ । फाइनलमा टोलीको प्रतिद्वन्द्वी चेल्सी हुनेछ । सिटीसामु यो सिजन तीन उपाधि जित्ने अवसर छ । लिभरपुलले भने लगातार तेस्रो खेल जितेर अर्को सिजन युरोपेली च्याम्पियन्स लिग जित्ने सम्भावना बलियो बनाएको छ ।
यो सप्ताहन्त वास्तवमै कस्तो रह्यो त ? यसलाई व्याख्या गर्ने तीन बुँदा यस्ता छन् :
आर्सनलको व्यस्त तालिका
मार्टिन ओडेगार्डलाई लाग्छ, आर्सनलको जुन व्यस्त खेल तालिका अबको केही दिन रहेको छ, त्यो वास्तवमै अचम्मको छ । इमिरेट्समा भएको खेलमा आर्सनलले न्युकासलमाथि झिनो अन्तरको जित मात्र निकाल्न सक्यो । कप्तान ओडेगार्डकै चलाखीपूर्ण छोटो कर्नर प्रहारमा इबेर्ची इजीले निर्णायक गोल गरे । पछि खेलको अन्त्यतिर इजी र काइ हाभर्टेज चोटका कारण मैदान छाड्न बाध्य रहे ।
तर आर्सनलले चोटमुक्त भएका बुकायो साकालाई पनि मैदानमा स्वागत गर्ने अवसर पायो । आर्सनलका लागि सिजनको अन्त्यतिर चोटग्रस्त खेलाडी ठूलो समस्या हुनसक्छ । अहिले यतिखेर आर्सनलको पूरा ध्यान बुधबार एटलेटिको म्याड्रिडविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा छ । ओडेगार्डको आफ्नै चोटको समस्या छ । अहिलेको स्थितिमा आर्सनल कोही खेलाडीलाई चोटका कारण गुमाउने स्थितिमा छैन ।
यस्तोमा ओडेगार्ड भन्छन्, ‘हामीलाई अबको प्रत्येक दिन कडा संघर्ष गर्नु छ र भविष्यलाई लिएर आशावादी हुनु छ । हाम्रो खेल तालिका कति धेरै व्यस्त छ भने त्यो अचम्मकै छ । तर हामीलाई यस्तो खेल तालिकाको पनि बानी परिसकेको छ । सिजनको अन्त्यतिर छौं र हामीले जति गर्न सक्ने हो सबैमा सक्दो गर्नेछौं । प्रत्येक जितका लागि हामीलाई कडा मिहिनेत गर्नु छ ।’
टोटनहममको आस
प्रशिक्षक रोबर्ट डे जेर्बीलाई लाग्छ, टोटनहमले के एक जित निकाल्छ, त्यसपछि सबथोक राम्रो हुनसक्छ । टोलीले रेलिगेसनमा परिसकेको उल्भ्सलाई हराएपछि डिसेम्बरयता पहिलो जित आत्मसात् गर्यो । तर वेस्ट ह्यामले एभरटनलाई अन्तिम समय भएको गोलमा हराएपछि त्यसको खासै अर्थ रहेन । टोटनहम रेलिगेसन क्षेत्रमै कायम रह्यो । टोटनहम सुरक्षित क्षेत्रबाट अझै २ अंक पछाडि छ ।
अबको खेलमा टोटनहमले एस्टन भिल्ला, लिड्स, चेल्सी र एभरटनको सामना गर्नेछ । इटालीका प्रशिक्षक जेर्बी भन्छन्, ‘मलाई के आस छ भने अहिले प्राप्त जितले क्लबको भाग्य परिवर्तन गर्न सक्ने छ । यो नतिजाले हामीलाई मानसिक रूपमा बलियो बनाउन सक्छ ।’ उनी आफ्ना खेलाडीलाई अरू टिमको नतिजामा ध्यान नदिन भनिरहेका छन् । जेर्बीलाई लाग्छ, पूरापूर ध्यान आफ्नै खेलमा मात्र भए राम्रो ।
सलाहको बिदा
यो सप्ताहन्तका खेलका सबैभन्दा ठूलो मोड रह्यो, लिभरपुलले क्रिस्टल प्यालेसमाथि प्राप्त ३–१ जितमा मोहमद सलाहले जसरी मैदान छाडे । खेलले एक घण्टा छुँदा सलाहले मैदान छाडेका थिए । यसक्रममा एनफिल्डका चारै कुना फर्केर उनले ताली बजाएर समर्थकलाई अभिवादन गरे । समर्थकले पनि ताली बजाएर त्यसको समर्थन दिए । पछि प्रशिक्षक आर्ने स्लटले माने, सलाहले फेरि लिभरपुलका लागि खेल्छन् वा खेल्ने छैनन्, थाहा छैन ।
सलाहले लिभरपुलका लागि चार सयभन्दा बढी खेल खेलेका छन् । यसक्रममा २ सय ५७ गोल गरेका छन् । स्लट भन्छन्, ‘सलाहलाई कस्तो चोट लागेको छ, त्यो हेर्नुपर्ने हुन्छ । उनी मैदानमा फर्कन सक्छन् वा सक्दैनन्, त्यो त्यही चोटले निर्धारण गर्नेछ । मलाई के लाग्छ भने सलाहले आफ्नो पूरा खेल जीवनमा चोट लाग्न नदिन र लागेपछि निको हुन धेरै मिहिनेत गर्छन् ।’
प्यालेसमाथिको जितले एस्टन भिल्लालाई उछिनेर लिभरपुल शीर्ष चारमा उक्लन सफल रह्यो । अहिलेका लागि लिभरपुल मात्र होइन, म्यानचेस्टर युनाइटेड र भिल्ला दुवै समान ५८ अंकमा छन् । यो भनेको त्यसपछि आउने ब्राइटनमाथि ८ अंकको अग्रता हो । शीर्ष पाँचमा रहने टिमले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ । त्यस अर्थमा शीर्ष पाँचमा रहने टिमको अहिलेको समीकरणमा सायद नै परिवर्तन होला ।
