फेरिएका नेपाल र ओमान खेल्दै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने, काठमाडौंमा सन् २०२० फेब्रुअरीयता नेपाल र ओमान पहिलो पटक आमनेसामने

वैशाख १५, २०८३

विनोद पाण्डे

A changed Nepal and Oman playing

What you should know

काठमाडौँ — क्रिकेट विश्वकप लिग २ को सर्कल चार वर्षको हुन्छ । २०१९–२३ को पछिल्लो सर्कलमा काठमाडौंमा ओमानसँग नेपालको भेट २०२० फेब्रुअरीमा भएको थियो । त्यसयता विश्वमा मात्र नभई नेपाली क्रिकेटमै ठूलो उथलपुथल आइसकेको छ ।

ओमान पछिल्लो पटक लिग २ का लागि काठमाडौं आउँदा कुशल भुर्तेल र आसिफ शेखले नेपालबाट ‘डेब्यु’ गर्न भ्याएका थिएनन् । पारस खड्काले त्यसको केही समयअघि मात्र नेपालको कप्तानी पद छाडेका थिए । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले ओमानसँग खेलेको थियो । शरद भेषावकर आफ्नो ‘प्राइम फर्म’ मै थिए ।

ओमानसँगको त्यो खेल संयोगले घरेलु मैदानमा खेलिएको नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि थियो । अमेरिका पनि समावेश उक्त शृंखलामा ओमानले ‘क्लिन स्विप’ गरेको थियो । कप्तान जेसन मक्सदुर र अकिब इल्याजले ब्याटिङ तथा बिलाल खान र कलिमुल्लाहले बलिङमा प्रभाव देखाएपछि ओमानले कीर्तिपुरमा सबै ४ खेल जितेको थियो । ओमानसँग २ खेलमा पराजित नेपालले भने अमेरिकासँगको दुवै खेल जितेको थियो । अमेरिका भने चारै खेलमा पराजित रहेको थियो ।

यस शृंखलालगत्तै कोभिड–१९ को प्रभाव विश्वभर देखिन पुग्यो र दुनियाँ कहाँबाट कहाँ पुग्यो । ओमानसँग पछिल्लो घरेलु शृंखला खेलेका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी अहिले पनि नेपाली टोलीमा छन् । सोमपाल कामीले चोटका कारण उक्त शृंखला खेलेका थिएनन् । पछिल्लो नेपाल भ्रमणमा आएका जतिन्दर सिंह अहिले ओमानी कप्तान छन् । अन्य सबै ओमानी खेलाडीका लागि नेपाली भूमि नौलो नै हो ।

ओमानले २०१९–०२३ को त्यो सर्कल नै उत्कृष्ट खेलेको थियो । ३६ खेलमा ४४ अंक जोड्दै टोली दोस्रो भएको थियो । बिलालले ३५ खेलमा ७६ विकेट लिँदै ओमानलाई उक्त स्थानमा पुर्‍याउन ठूलो भूमिका खेलेका थिए । नेपाल ४० अंक जोड्दै तेस्रो भएको थियो । अन्तिम १२ मध्ये ११ खेल जित्दै नेपाल दोस्रो स्थानको ओमान नजिक पुगेको थियो, त्यसमध्ये घरेलु मैदानमा खेलिएका सबै ८ खेल नेपालले जितेको थियो । समग्रमा नेपालले पछिल्लो लिग २ मा घरेलु मैदानमा १२ मध्ये १० खेल जितेको थियो, दुई पराजय त्यही ओमानसँग थियो ।

नेपाल अहिले त्यही स्थितिमा छ । चाहिएको नतिजा पनि त्यस्तै छ । नेपालले २१ खेल खेल्दा १४ अंक मात्र लिएर सातौं स्थानमा छ । अब १५ खेल खेल्न बाँकी छ । यसमध्ये करिब १२ खेल जति जित्न सके नेपाल शीर्ष चारमा रहन सक्छ, जसले नेपाललाई लगातार दोस्रो पटक एकदिवसीय विश्वकप छनोटमा पुर्‍याउने छ । यी १५ खेलमध्ये नेपालले घरेलु मैदानमा ७ खेल खेल्ने छ । यूएई र ओमानसँग यस शृंखलापछि नेपालले अमेरिका र स्कटल्यान्डसँगको अर्को लिग २ को शृंखला खेल्ने छ ।

त्यसपछि नेपाल जुलाईमा नेदरल्यान्ड्स जानेछ र त्यहाँ नेदरल्यान्ड्स र नामिबियासँग खेल्ने छ । अक्टोबरमा ओमान गएर नेपालले २०२३–०२७ को लिग २ को सर्कल टुंग्याउने छ । मस्कटमा नेपालले ओमान र क्यानडाको सामना गर्नेछ ।

ओपनिङ ब्याटिङबाट ठूलो अपेक्षा

नेपालले बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानको सामना गर्दै छ । लिग २ को यस शृंखलामा नेपालले शनिबार पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । ओमान भने सोमबार यूएईसँग २५ रनले पराजित भयो । ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।

शीर्ष चारभित्र पर्न नेपालका लागि यो शृंखला निकै महत्त्वपूर्ण हुने कप्तान रोहित पौडेलले यसअघि नै बताइसकेका छन् । नेपालले यूएईविरुद्धको पहिलो खेलमा २ सय रनमात्र बनाउन सकेको थियो । त्यसमा रोहितसहित नेपाली टोली सन्तुष्ट थिएन । नेपालले अत्यधिक महत्व बोकेका खेलहरूमा अझै केन्द्रित भएर ब्याटिङ गर्नुपर्ने रोहितको तर्क थियो ।

विशेष गरी ओपनरद्वय आसिफ र कुशलले संयमित भएर खेल्नुपर्ने देखिन्छ । यूएईसँग पहिलो ओभरमा ७ रन प्रहार गरेका आसिफ दोस्रो ओभरमा लाइनको बलमा क्रस खेल्न खोज्दा बोल्ड हुन पुगे । आसिफले केही अगाडिमात्र घरेलु क्रिकेटमा दोहोरो शतक बनाएका थिए । यस्तो निर्णायक मोडमा नेपाली टोली आसिफबाट त्यस्तै महत्त्वपूर्ण इनिङ्सको अपेक्षामा छ ।

सन् २०२४ को अक्टोबरमा अमेरिका भ्रमणमा डालासमा अमेरिकाविरुद्ध ५२ रन बनाएयता आसिफले लिग २ मा अर्धशतक बनाउन सकेका छैनन् । त्यसक्रममा उनले ११ इनिङ्स खेलिसकेका छन् । कुशलले यूएईसँग २४ रन बनाएपछि जमेको विकेट गुमाएका थिए । उनले पनि लिग २ का पछिल्ला ८ खेलमा अर्धशतक बनाउन सकेका छैनन् । लिग २ को यस सर्कलमा आसिफले १९ खेलमा ४ सय १६ र कुशलले १८ खेलमा ३ सय ७१ रन बनाएका छन् । आसिफले ३ र कुशलले २ अर्धशतक बनाएका छन् ।

२०२३–०२७ को लिग २ को सर्कलमा नेपालले ओमानसँग दोस्रो पटक खेल्न लागेको हो । २०२४ को क्यानडा भ्रमणमा ओमानले पहिलो खेलमा नेपाललाई १ विकेटले पराजित गरेको थियो भने अर्को खेल रद्द भएको थियो ।

६ वर्षअघि लिग २ को शृंखला ‘क्लिन स्वीप’ गरेको ओमानको यसपालिको काठमाडौं भ्रमण त्यति राम्रो हुन सकेको छैन । नेपाल ‘ए’ सँगको अभ्यास खेलमा केही प्रमुख खेलाडीलाई आराम दिएको ओमान शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा १ सय १५ रनले पराजित भएको थियो ।

यूएईसँग ओमानका विकेटकिपर विनायक शुक्लाले अविजित ५८ रन बनाएका थिए । उनले सो खेलबाट केही सकारात्मक पक्ष लिएर नेपालविरुद्ध खेल्ने जनाएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully