रुवान्डामा भइरहेको प्रतियोगितामा आइतबार अमेरिकाले नेपाललाई ७ विकेटले पराजित गर्यो । प्रतियोगिताको पहिलो दिनको खेलमा पनि अमेरिकाले नेपाललाई ४४ रनले पराजित गरेको थियो ।
What you should know
काठमाडौं — अमेरिकाले आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा नेपाललाई पुनः पराजित गरेको छ । रुवान्डामा भइरहेको प्रतियोगितामा आइतबार अमेरिकाले नेपाललाई ७ विकेटले पराजित गर्यो । प्रतियोगिताको पहिलो दिनको खेलमा पनि अमेरिकाले नेपाललाई ४४ रनले पराजित गरेको थियो ।
नेपालको यो लगातार दोस्रो हार हो । नेपाललाई शुक्रबार भानुआटुले २२ रनले पराजित गरेको थियो । त्यसअघि नेपालले इटालीलाई ५० रनले र आयोजक रुवान्डालाई २ विकेटले पराजित गरेको थियो । नेपालले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ । मे १ सम्म हुने ५ राष्ट्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा भइरहेको छ ।
रुबि पोदारले अविजित ५१ रन बनाए पनि टस जितेर ब्याटिङ रोजेको नेपालले किगाली स्थित गहन्गा क्रिकेट रंगशाला ओभल बी मा निर्धारित २० ओभर खेली ६ विकेट गुमाई ८६ रन मात्र बनाउन सक्यो । ५१ बल नै खेलेकी रुबिले ५ चौका र १ छक्का प्रहार गरिन् । खेलको पहिलो बलमै सम्झना खड्का आउट भएपछि सम्हालिन नसकेको नेपालबाट विन्दु रावल ३, पूजा महतो ८, कविता जोशी १, इन्दु बर्मा ८, कविता कुँवर ९ रनमा आउट भइन् । रोमा थापा ३ रनमा अविजित रहिन् । अमेरिकाबाट माही माधवन र रितु सिंहले २–२ विकेट लिइन् ।
अमेरिकाले ११.५ ओभरमै ८९ रन बनाई सहज जित निकाल्यो । अमेरिका ५ खेलमा चौथो जित निकाल्दै शीर्ष स्थानमा छ । सैनभी कम्बालापाली २१ र पूजा गणेश २० रन बनाई आउट भइन् भने इसानी भागेला २९ बल खेली ५ चौका र १ छक्का प्रहार गरी ३५ र गार्गी भोग्ले १२ रन बनाई अविजित रहिन् । नेपालबाट मनीषा उपाध्याय, पूजा र इन्दुले १–१ विकेट लिए ।
