विश्वकप लिग-२ मा २०१ रनको लक्ष्य लिएर आएको यूएईलाई नेपालले ४८.२ ओभरमा १६३ रनमै अलआउट गर्यो ।
काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग-२ मा शनिबार लो स्कोरिङ खेलमा यूएईलाई ३७ रनले पराजित गरेको छ । २ सय १ रनको लक्ष्य लिएर आएको यूएईलाई नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ४८.२ ओभरमा १ सय ६३ रनमै अलआउट गर्यो ।
करण केसीले ४ विकेट लिँदै नेपाललाई जित दिलाए । उनले ९.२ ओभरमा २ मेडन राख्दै १९ रन खर्चेर उत्कृष्ट बलिङ गरे । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए । सन्दीपले १० ओभरमा २ मेडन राख्दै २५ र सोमपालले ९ ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए ।
नेपालले २१ खेलबाट १४ अंक पुर्याएको छ र ८ राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो अन्तिम स्थानमा कायमै छ । यूएई खेलबाट १० अंकमात्र बोकी पुछारमा रहेको छ ।
यूएईबाट हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए । उनले ५२ बल खेली ५ चौका प्रहार गरे । कप्तान मोहम्मद वासिमले ३४, अक्षदीप नाथले ३० तथा अर्यान्श शर्मा र निलान्श केसवानीले समान १८ रन बनाए ।
यसअघि दीपेन्द्रको अर्धशतकपछि टस हारेर ब्याटिङमा आएको नेपाल ४८.२ ओभरमा २ सय रनमा अलआउट भएको थियो । दीपेन्द्रको ७५ रनपछि मात्र नेपाल यो स्थितिमा पुगेको हो । ६३ रनमा जीवनदान पाएका दीपेन्द्रले ९० बल खेली ५ चौका र २ छक्का प्रहार गरे । उनी नेपाली इनिङ्समा अन्तिम खेलाडीको रुपमा आउट भए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको छैटौं अर्धशतक हो ।
नेपालले पहिलो ओभरमा ८ रन प्रहार गरे पनि त्यसपछि बिर्सनलायक ब्याटिङ गर्यो । दोस्रो ओभरमा खुजैमा तान्भिरले आसिफ शेखलाई ७ रनमा बोल्ड गरे । भीम सार्की १६ बल खेली २ चौका प्रहार गरी १० रनमा आउट भए । ओपनर कुशल भुर्तेलले २५ बल खेली ४ चौकासहित २४ रन बनाए ।
कप्तान रोहित पौडेल २ रनमा एलबीडब्लू आउट भएपछि नेपाल ४९–४ को स्थितिमा पुगेको थियो । बसिर अहमद र दीपेन्द्रले पाँचौं विकेटमा ४१ रनको साझेदारी गरे । बसिर २० रनमा एलबीडब्लू आउट भए । उनले ४७ बल खेली ३ चौका प्रहार गरे । आरिफ शेख र सोमपाल कामी समान १५ रनमा आउट भए ।
दीपेन्द्र र करणले आठौं विकेटमा ४२ रनको साझेदारी गरे । करणले ३७ बल खेली समान १ चौका र छक्कासहित २२ रन बनाए । सन्दीप २ रनमा आउट भए । यूएईका जुनाइद सिद्धिकी र अजय कुमारले ३–३ विकेट लिए । सिद्धिकीले ९.२ ओभरमा ३ मेडन राख्दै ३३ र अजयले ९ ओभरमा १ मेडन राख्दै ३४ रन खर्चे । तान्भिरले २ विकेट लिए ।
