ब्याटिङ र बलिङमा विपक्षीलाई खासै मौका नदिएको नेपाल ‘ए’ ले शुक्रबार मूलपानीको माथिल्लो क्रिकेट मैदानमा ओमानको राष्ट्रिय टोलीलाई १ सय १५ रनले पराजित गर्यो ।
काठमाडौँ — नेपाल ‘ए’ दोस्रो अभ्यास खेलमा ओमानमाथि सनसनीपूर्ण विजय हात पारेको छ । ब्याटिङ र बलिङमा विपक्षीलाई खासै मौका नदिएको नेपाल ‘ए’ ले शुक्रबार मूलपानीको माथिल्लो क्रिकेट मैदानमा ओमानको राष्ट्रिय टोलीलाई १ सय १५ रनले पराजित गर्यो ।
यस जितसँगै नेपाल ‘ए’ ले दुई खेलको शृंखला १–१ को बराबरीमा टुंग्याएको छ । ओमानले पहिलो खेलमा नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । ओमानले शनिबार सुरु हुने क्रिकेट विश्वकप लिग २ मा नेपाल र यूएईस“ग खेल्दै छ । सोमबार यूएईसँग खेल्ने ओमानले बुधबार नेपालको सामना गर्नेछ ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ८४ रन बनायो । नेपालबाट देव खनालले ९५ बलमा ५ चौका प्रहार गरि ६४, प्लेयर अफ द म्याच इशान पाण्डेले ७८ बल खेली ६ चौकासहित ६९ र कुशल मल्लले ३२ बल खेली समान ४ चौका र छक्कासहित ५७ रन बनाए । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।
जवाफमा आएको ओमान ३६.३ ओभरमा १ सय ६९ रनमै अलआउट भयो । मुजिबुर अली ६६ बल खेली २ चौकासहित ४३, रमानन्दी २४, पृथ्वी माछी १९, हमाद मिर्जा १८ र कप्तान जतिन्दर सिंह १७ रनमा आउट भए । विनायक शुक्लले १७ बल खेली २ चौका र १ छक्कासहित २१ रन जोडे ।
नेपालबाट युवराज खत्रीले ३ विकेट लिए । उनले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चे । हेमन्त धामीले ६ ओभरमा २५, आकाश चन्दले ४.३ ओभरमा १५ र शेर मल्लले १० ओभरमा ४२ रन खर्चेर २–२ तथा सन्तोष यादवले १ विकेट लिए ।
