नेपालले पहिलो हाफमा २६–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा नेपालले २२ अंक जोड्दा ताइपेईले १९ अंक बटुलेर नेपालले टक्कर दिएको थियो ।
सान्या — चीनको हाइनान प्रान्तस्थित सान्यामा जारी छैटौं एसियन बिच गेम्समा नेपालले महिला कबड्डीतर्फ विजयी सुरुआत गरेको छ । समूह चरणको पहिलो खेलमा बिहीबार नेपालले तुलनात्मक बलियो मानिएको चाइनिज ताइपेईलाई ४८–३२ अंकले हराएको हो ।
नेपालले पहिलो हाफमा २६–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा नेपालले २२ अंक जोड्दा ताइपेईले १९ अंक बटुलेर नेपालले टक्कर दिएको थियो ।
महिला कबड्डीमा सात राष्ट्रको सहभागिता छ । नेपाल समूह ‘बी’ मा ताइपेईसहित थाइल्यान्ड र बंगलादेश रहेको छ । पहिलो खेलबाट जित निकाल्न सफल भएपछि नेपालकी कप्तान मानमति विष्टले थप हौसला मिलेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘पहिलो गेम जित्दा अरू खेलका लागि दबाब कम हुन्छ भने मनोबल पनि बढ्छ । थप खेलहरू गर या मरको रूपमा अपनाएर खेल्ने छौं ।’
नेपालले दोस्रो खेलमा शुक्रबार बंगलादेशसँग खेल्ने तालिका छ । बिहीबारै बंगलादेशले थाइल्यान्डलाई ५१–३४ ले पराजित गरेको हो ।
चाइनिज ताइपेईसँगको खेल जितेपछि आफ्नो टिमको आत्मविश्वास र थप खेलका लागि अतिरिक्त मानसिक शक्ति बढेको नेपालका सेफ द मिसन रामकृष्ण श्रेष्ठले बताए । ‘खेलमा हार जित हुने नियमलाई ध्यानमा राखेर एउटा खेलमै हौसिइहाल्नु त हुँदैन तर यो नेपालका लागि ठूलो जित हो । अरू खेलमा ऊर्जा मिल्नेछ,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘मिहिनेतअनुरुप नेपाली खेलाडीले पहिलो खेलमै बलियो टिमबाट मनोबल उकास्न सफल भएको छ, यो आत्मविश्वास कायम राख्नुपर्छ ।’
चीनमै तीन वर्षअगाडि आयोजित १९ औं एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । त्यो एसियाडमा नेपाली टिमले जितेको पहिलो कांस्य पदक हो । त्यस्तै बिहीबारै समूह ‘ए’ मा भएको खेलमा भारतले श्रीलंकालाई ४४–३२ स्कोरले हराएको थियो ।
बुधबार राति भव्य र अलौकिक सांस्कृतिक झाँकीसाथ छैटौं एसियन बिच गेम्स समुद्री तटवर्ती सहर सान्यामा सुरु भएको हो । उद्घाटन समारोहमा चिनियाँ राज्य परिषद् सदस्य छन यिछिन, सान्या एसियाली बिच गेम्स आयोजक समितिका अध्यक्ष तथा हाइनान प्रान्तका गभर्नर लिउ सियाओमिङ र ओसीएका अध्यक्ष राजकुमार गाब्रियललगायतले सम्बोधन गरेका थिए ।
हाइननको संस्कृति र खेलकुद भावनासाथ जीवन्त प्रदर्शनबाट सहभागीहरू उत्साहित भए । चीनले हाइनान प्रान्तलाई फ्री ट्रेड पोर्टमा परिणत गरेयता आयोजित पहिलो बृहत् अन्तर्राष्ट्रिय खेलकुद भएकाले निकै महत्व दिएको छ । १४ खेलकुद र ६२ इभेन्टमा १६ सयभन्दा बढी खेलाडीले भाग लिएका छन् ।
